राजनीतिक रिक्तता सिर्जना गर्ने षडयन्त्रः एमाले


१८ साउन । नेकपा (एमाले) ले नेपालको राजनीतिमा देखिएका पछिल्ला घटनाक्रम तथा प्रकट/अप्रकट षड्यन्त्रहरुले संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरी मुलुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने षड्यन्त्र भएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा व्यवस्थापिका–संसद्मा जारी प्रधानमन्त्री निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यस्तो ठहर गरेको हो । ‘बैठकले नेपालको राजनीतिमा देखिएका पछिल्ला घटनाक्रम तथा प्रकट/अप्रकट षड्यन्त्रहरुले संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरी मुलुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने षड्यन्त्रहरुप्रति सजग रहन सबै राजनीतिक दल तथा जनसमुदायमा आह्वान गरेको छ,’ बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले आगामी मंसिरमा स्थानीय तह, २०७४ वैशाखमा प्रदेश र कात्तिक–मंसिरमा संघीय संसद्को निर्वाचन गर्न वर्तमान सरकारद्वारा सार्वजनिक गरिएको कार्यसूचीलाई कार्यान्वयन नगर्ने र मुलुकलाई अनिश्चयमा धकेल्ने कुनै पनि षड्यन्त्रप्रति सजग रहँदै निर्धारित मितिमा तहगत निर्वाचन सम्पन्न गर्न पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

‘बैठकले नेपालको राष्ट्रिय एकता, सामाजिक सद्भाव, मुलुकको स्वतन्त्रता र सार्वभौमतामाथि खतरा उत्पन्न हुने गरी आउने कुनै पनि राजनीतिक प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ गर्न पार्टीका तर्फबाट प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैठकले हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न मतदान गर्ने तथा हालसम्म सरकारलाई साथ, सहयोग र समर्थन दिइरहने सबै राजनीतिक दल, सासंद् सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्