राजपाः छ नेता, तीन धार


२२ जेठ । असन्तुष्ट राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने वा नलिने भन्नेमा अझै अन्योल कायम छ । मधेस केन्द्रित राजनीति गरिरहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदारको फोरमले पहिलो चरणको निर्वाचनमा भाग लिए पनि राजपाले संविधान संशोधन नभएसम्म भाग नलिने भन्दै बहिस्कार गरेको थियो ।

असन्तुष्ट राजपालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन सरकारले तीन पटकसम्म निर्वाचन मिति सारे पनि अझैसम्म सो पार्टीले भाग लिनेबारे प्रस्टता देखाइसकेको छैन । पछिल्लो समय मधेसमा राजनीति गरिरहेका ६ दल मिलेर राजपा गठन भएको हुँदा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन । सो दललाई चुनावमा सहभागी गराउनैका निम्ति दल दर्ताको प्रक्रिया सहज गराउन चुनावी मिति सारिएको थियो ।

तर, राजपाका शीर्ष ६ नेताहरुबीच दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विषयमा मतभेद र अन्योल तीव्र बन्न पुगेको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि विधान तयार पार्ने क्रममा जुटेको सो दलबीच चुनावमा जाने वा आन्दोलन रोज्ने भन्नेबारे विवाद उत्पन्न भएको हो । दोस्रो चरणको निर्वाचनमा मधेसका चितवन र नवलपुरबाहेकका जिल्लामा निर्वाचन हुँदै छ ।

दोस्रो चरणको निर्वाचनको मनोनयनको मिति असार ४ गते तोकिए पनि राजपा भने आन्तरिक विवादमा फसेको हुँदा निर्वाचनमा सहभागी हुने सम्भावना कम हुँदै गएको छ । राजपाका पहिलो नम्बरका नेता महन्थ ठाकुरले अहिलेसम्म कुनै लिन सकेका छैनन् । उनी अनिर्णयका बन्दी बन्न पुगेका छन् । ठाकुरसँगै अनिल झाले पनि कुनै निर्णय दिन सकेका छैनन् । ठाकुर र झा अनिर्णयको घेरामा परेको प्रष्टै देखिएको छ ।

राजपाभित्र अलि उग्र स्वभावका नेताका रुपमा चिनिने राजेन्द्र महतो र राजकिशोर यादव भने चुनावमा सहभागी हुने कुरामा टाढै देखिएका छन् । महतो र यादवले संविधान संशोधन नभई र मधेसमा स्थानीय तहको संख्या नबढाई चुनावमा भाग लिँदा त्यो प्रत्युत्पादक हुने भनिरहेका छन् । आफूहरुलाई प्रत्युत्पादक हुने निर्वाचनमा भाग लिन नहुने पक्षमा ती दुई नेता उभिएका छन् ।

६ जना नेतामध्ये दुई जना अनिर्णित र अरु दुई जना चुनाव बहिस्कार गर्नुपर्ने पक्षमा रहे पनि महेन्द्र राय यादव र शरत्सिंह भण्डारी भने चुनावलाई उपयोग गरेर जानुपर्ने पक्षमा उभिएका छन् । चुनावमा भाग नलिँदा कार्यकर्ता पंक्तिलाई मधेसमा टिकाउन गाह्रो पर्ने भन्दै उनीहरु चुनावको पक्षमा उभिएका हुन् । यसअघि चुनाव बहिस्कार गर्ने पक्षमा उभिँदै आएका उपेन्द्र यादव र गच्छदारले पहिलो चरणको चुनावमा भाग लिइसकेका हुँदा चुनावलाई उपयोग गरेर जानुपर्ने पक्षमा यादव र भण्डारी उभिएको बताइन्छ ।

दोस्रो चरणको चुनावमा राजपाले भाग लिने अपेक्षा राखिए पनि आन्तरिक कलहमा फसेको हुँदा सो दल चुनावमा सहभागी नहुने आशंका बढेको छ । दोस्रो चरणको निर्वाचनमा मधेसका सबै तहहरु पर्ने भएका हुँदा राजपाको अन्योल र आन्तरिक कलहको छायाँ दोस्रो चरणको निर्वाचनमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्