राजपामा भाँडभैलोः महतोले गद्धारी गरेको हुन सक्ने भन्दै शुक्ल र गुप्ता सशंकित


९ असार । दोस्रो चरणमा हुने स्थानीय निर्वाचनको मिति आउन अब ५ दिन मात्र बाँकी छ । प्रमुम प्रतिपक्षी दल नेकपा (एमाले) मात्र होइन सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस, सरकारमा सहभागी दल नेकपा माओवादी केन्द्रलगायत पनि अहिले चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । मधेसी जनताका अधिकार खोसिएको संविधान मान्दैनौँ भन्दै आन्दोलन गरिरहेको दल संघीय समाजवादी फोरम नेपाल पनि अहिले चुनावी अभियानमा सक्रिय छ ।

तर, पटक–पटक विभिन्न बाहनामा अत्तो थाप्ने तर व्यवस्थापिका संसद्को भत्ता थाप्न नछाड्ने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) भने चुनाव नजिकिदै गर्दा घरको न घाटको जस्तो भएको छ । पटक–पटक घुर्की लगाएर सत्ताको चास्नी चाट्ने बानी परेको राजपा आफ्नै कार्यकर्ताले साथ छाडेपछि थप मर्माहत भएको हो । मधेसी जनताको घुर्की लगाएर मधेसमा अन्य दललाई प्रवेशमा समेत प्रतिवद्ध लगाउने हर्कत गर्ने राजपा दोस्रो चरणको निर्वाचनमा आइपुग्दा ‘किन चाउरिस मरिच आफ्नै रागले’ भने जस्तो भएको छ ।

दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलनको घोषणा गरेको सो दलको आन्दोलन अहिले ‘कोमा’मा पुगेको छ । राजपाकै केही नेताहरु पार्टीबाट भटाभट् राजिनामा दिएर स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि अहिले मधेसवादी दलका शीर्ष नेता हुँ भन्ने राजेन्द्र महतो, महन्थ ठाकुरलगायतका नेता समेत थप समस्यामा परेका छन् ।

त्यति मात्र होइन अहिले निर्वाचन बहिष्कार गर्ने र निर्वाचनमा भाग लिने भन्ने दल भित्रको विवाद बाहिर नै छताछुल्ल हुन थालेपछि सो दल कमजोर बन्न थालेको छ । नेपालको भन्दा भारतको बढी चिन्ता लिने राजेन्द्र महतोहरु अहिले पनि निर्वाचन बहिष्कार गरेर ठीक गरेको भन्ने अडानमा छन् । तर, नेपाल रहे मात्र नेपाली रहन सकिन्छ भन्ने हेक्का भएका केही नेता भने महतोहरुको कडा लाइनको विरुद्धमा उभिएका छन् ।

त्यसो त वृजेशकुमार गुप्ता, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताले राजेन्द्र महतोलगायतका नेताको हठका कारण चुनाव बहिस्कारको निर्णय भएको भन्दै निर्वाचनमा सहभागी पार्टी कार्यकर्ताहरुको चुनावी प्रचारमै जुटेका छन् । कपिलबस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद समेत रहेका गुप्ताले त आफूहरुमाथि गद्धारी भएको भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारले गर्योा कि आफ्नै पार्टीले गर्यो त्यो भन्न नसक्ने भन्दै आफूहरु शंकामा रहेको बताए ।

यता महतो निकट मानिने लक्ष्मणलाल कर्णले भने निर्वाचन बहिष्कार गरेर ठीक गरेको प्रतिक्रिया दिए । उनले निर्वाचनमा राजपाका केही नेता–कार्यकर्ता उठेको जानकारी आए कारवाही गर्ने चेतावनी नै दिए । तपाईँहरुकै महासचिव गुप्ताले त कारवाही नगर्ने संकेत गर्नुभएको छ नि ? भनी गरेको प्रश्नमा उनले त्यो उनको नीजि विचार भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्