राजपाले चुनावमा भाग लिने उपेन्द्रको दाबी


२३ साउन । स्थानीय तहको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशको निर्वाचनमा असन्तुष्ट राजपाले भाग लिने वा नलिने भन्नेबारे सो दलका नेताहरुबीच काठमाडौंमा गरमागरम बहस चलिरहेकै बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने राजपाले चुनावमा भाग लिने दाबी गरेका छन् । पाँचथर पुगेका यादवले राजपाले प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने बताएका हुन् ।

पाँचथरको फिदिममा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यादवले भने, ‘‘जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो ।’’ सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरेको यादवले बताएका थिए ।

अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न नसक्ने बताउँदै भने, ‘अब छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्छ ।’ यादवले नयाँ शक्तिसँग एकीकरण गर्ने प्रयास जारी नै रहेको र निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना रहेको पनि सो अवसरमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्