राजपा चुनावमा नआउने निश्चित, मनोनयन दर्ताका दिन मधेस र थारुहट बन्दको घोषणा


२ असार । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा ल्याउन चौथो पटक निर्वाचन मिति सारेको हवला दिए पनि राजपाले सरकारको दाबीलाई झूट प्रमाणित गरेको छ । शुक्रबार बसेको राजपाको बैठकले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेपछि सरकारको हवला गलत सावित भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २ नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने निर्णय गरेसँगै राजपा निर्वाचनमा आउने दाबी गरेको थियो । त्यसैबेला आफूहरुको सहमति विनै सरकारले निर्वाचन मिति सारेको आरोप लगाएको राजपाले आजको बैठकमा सरकारको निर्णयलाई अमान्य घोषणा समेत गरेको छ ।

बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय समेत गरेको छ । ‘२ नम्बर प्रदेशको चुनाव हाम्रो सहमति विना नै सरकारले सार्ने निर्णय गरेको हो,’ राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘हामीले पटक–पटक सरकारलाई हाम्रा मागहरु पूरा नभएसम्म चुनावमा भाग लिँदैनौं र आन्दोलन जारी राख्छौं भनेका छौँ । अहिले पनि सरकारलाई भन्न चाहन्छौ । हाम्रो आन्दोलन जारी छ ।’

उम्मेदवार मनोनय दर्ता सरकारले दुई दिन पछि सारेपछि राजपाले पनि आफ्ना आन्दोलनका कार्यक्रममा केही हेरफेर गरेको छ । राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्‍याउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेको थियो । बैठकले ३ गते थारुहट र मधेसका सबै जिल्लाका सदरमुकाममा लाठी जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ । ४ गते थारुहट र मधेसका सबै जिल्ला बन्दको घोषणा गरको छ । मनोनयन दर्ता ४ गते नै छ ।

प्रतिक्रिया दिनुहोस्