राजेन्द्र महतोले भने–‘सिके राउतको जस्तो मधेसलाई अलग मुलुक बनाउने हाम्रो माग होइन’


२० पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु देश टुक्र्याउने पक्षमा नरहेको दाबी गरेका छन् । विराटनगरमा बुधबार सद्भावना पार्टी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले मधेसलाई पहाडबाट अलग गर्ने सिके राउतको जस्तो आफूहरु अलग मुलुकको पक्षमा नरहेको पनि उनले प्रष्ट पारे । सिके राउतले अलग मुलुकको माग राखेको सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले भने– ‘प्रदेशको माध्यमबाट नै मधेसी, थारु,आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने भएकाले त्यस्ता मागको पक्षमा मधेसी मोर्चा छैन ।’

उनले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने दाबी पनि गरे । उनले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्नेमा जोड दिए ।  प्रस्ताव पारित नभएको अवस्थामा निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । उनले मधेसका जनतालाई शासनको अनुभूति दिनका लागि मधेस र पहाडलाई छु्याएर प्रदेशको निर्माण गर्नुपर्ने माग गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्