रात्रि क्लबमा भएको हत्यालाई ओबामादेखि सि जिनपिङसम्मले भनेः घटना कायरतापूर्ण


३१ जेठ। संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा ५० जनाको मृत्यु हुने गरी गराएको नरसंहारलाई विश्वका नेताहरुले कायरताको संज्ञा दिएका छन् । रात्रि क्लबमा भएको त्यस हत्याको निन्दा गर्दै विश्वका नेताहरुको अमेरिकी जनतालाई धैर्यधारण गर्ने बल मिलोस भनी कामना गरेका छन् । यसरी कामना गर्नेमा वेलायती महारानीदेखि चीनका राष्ट्रपति सि जिनपिङसम्म रहेका छन् । एक जना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउदा रात्रि क्लबमा मनोरञ्जन लिइरहेका कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो ।

उक्त घटनाबाट पर्न गएको दुःखप्रति अमेरिकी राष्ट्रपतिमार्फत अमेरिकी नागरिकमा समवेदना भन्दै बेलायतकी महारानी एलिजावेथ द्वितीयाले दुःखव्यक्त गरेकी छिन् । बेलायतको राजपरिवारको आधिकारिक ट्वीटर अकाउण्टमा उनले त्यस घटनाबाट आफू र सबै बेलायती नागरिक स्तब्ध भएको भन्दै यसका कारण भएको दुःखप्रति सबै अमेरिकी नागरिकमा सान्त्वता दिएकी छिन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि उक्त कार्यलाई कायरले गर्ने काम भनी प्रतिक्रिया दिएका छन् । ओबामाले अमेरिकाको इतिहासमा नै यो सबैभन्दा घृणित र आम नरसंहार हो भन्दै यसलाई कुनै पनि अमेरिकी नागरिकले कहिल्यै पनि नबिर्सने भनेका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकी नागरिकमा पर्न गएको चोटप्रति आफु पनि चिन्तित भएको बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङले पनि उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । आफूलाई त्यो समाचार सुनेर अत्यन्तै स्तब्ध बनाएको भन्दै उनले राष्ट्रपति बाराक ओबामामार्फत सबै अमेरिकी नागरिकमा समवेदना व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पनि सो घटनाको निन्दागर्दै दुःखद घडीमा सबै अमेरिकी नागरिकलाई धैर्यधारणका लागि आफूले प्रार्थना गरिरहेको बताएका छन् । अफगान मूलका अमेरिकी नागरिक ओमार मातिनले सुरुमा सो क्लबमा मनोरञ्जन गरिरहेका केही युवालाई बन्धक बनाएको र उनीहरुलाई छुटाउने क्रममा आफैँले बन्दुक हानेर हत्या गरेका थिए । त्यस घटनामा दर्जनौँ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्