राधाकृष्ण र रुपनारायण ‘आउट’ को बेग्लै कथा


काठमाडौं,९ जेठ । तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय राधाकृष्ण मैनाली र रूपनारायण श्रेष्ठ नेकपाको केन्द्रीय सदस्य बन्नबाट वञ्चित भएका छन् । त्यसो त उनीहरूसहित तत्कालीन एमालेबाट १० केन्द्रीय सदस्य एकीकरणपछि बनेको नयाँ पार्टीमा केन्द्रीय सदस्य बन्न पाएनन् ।
झापा संघर्षबाट राजनीतिमा उदाएका मैनाली पूर्वमन्त्री तथा पार्टीको स्थायी समिति सदस्यसम्म भएका थिए । तर, तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमलाई समर्थन गरेपछि अनुशासनको कारबाहीमा परेर बाहिरिएका उनी तत्कालीन एमाओवादी हुँदै एमाले प्रवेश गरेका थिए । पुराना नेता मात्र होइन, साथीसमेत रहेकाले तत्कालीन एमाले अध्यक्ष केपी ओलीको प्रस्तावमा मैनाली केन्द्रीय सदस्य बनाए । उनलाई स्थायी समिति सदस्यसमेत बनाउने सोचमा ओली थिए, तर केन्द्रीय सदस्य भएको एक वर्षसमेत नबित्दै मैनाली पार्टी कामबाट निष्क्रिय मात्र भएनन्, नेतृत्वविरुद्ध सञ्चारमाध्यममा विषवमन गर्ने, गलत खालका लाञ्छना लगाउने काममा सक्रिय रहेको रिपोर्ट बालकोट पुग्यो । त्यति मात्र होइन, आत्मवृत्तान्त पुस्तक प्रकाशित गरेर अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले कुनै प्रसंग नै नभएको घटनाक्रममा मुछ्ने र तथ्यभन्दा बाहिर गएर आरोप लगाउनेसम्मका काम गरेको उनीमाथि आरोप लाग्यो । यी सबै घटनाक्रमका कारण मैनालीलाई पार्टी एकीकरणको ऐतिहासिक क्षणमा नेकपाको केन्द्रीय सदस्य नबनाइएको उच्च स्रोतले जनाएको छ ।
उता, पूर्वअखिलका नेतासमेत रहेका रूपनारायणमाथि पनि पार्टी नेतृत्वले ऐतिहासिक क्षणमा केन्द्रीय सदस्य नबनाएर अनुशासनको कारबाही गरेको चर्चा चलेको छ । गत स्थानीय तहको निर्वाचनमा रूपनारायणमाथि उम्मेदवार बन्ने प्रतिस्पर्धीमा रहेकाहरूबाट लाखौं रुपैयाँ मागेको आरोप लागेको थियो । त्यसका लागि आकांक्षी उम्मेदवारसँग पैसा माग्न संवाद गरेको अडियोसहितको उजुरी तत्कालीन एमाले पार्टी केन्द्रीय कार्यालयमा परेको थियो । तर, स्थानीयलगत्तै प्रदेश र संघीय संसद्को चुनाव आएकाले पार्टीको जनमतमा असर पर्ने भन्दै उक्त प्रकरणलाई ‘गुपचुप’ बनाइएको थियो । तर, अहिले पार्टी एकता संयोजन समितिले केन्द्रीय सदस्य बन्न वञ्चित गरेर अनुशासनको कारबाही गरेको उच्च स्रोतले जनाएको छ ।
त्यस्तै, नवौं महाधिवेशनबाट निर्वाचित भएका र पछि मनोनीत भएकामध्ये विद्या भण्डारी, गणेश तिमल्सिना, डा. शिवमाया तुम्बाहाम्फे, योगनारायण यादव, रामनाथ ढकाल, अग्नि खरेल, सानुकुमार श्रेष्ठ, प्रह्लाद गिरी केन्द्रीय सदस्य परेनन् ।

प्रतिक्रिया दिनुहोस्