राप्रपा नेपाल र राप्रपाबीचको एकताले अध्यक्षको मात्र टुंगो लगाउने संकेत


६ मंसिर । गणतन्त्र रोज्ने कि राजसंस्थातिर फर्किने भन्ने मुख्य राजनीतिक मुद्दामा सहमति नभए पनि राप्रपा, नेपाल र राप्रपाबीच सोमबार एकता हुने भएको छ । कमल थापाले नेतृत्व गरेको राप्रपा, नेपालले सुरुदेखि नै राजसंस्था स्थापना हुनुपर्नेमा जोड दिँदै आइरहेको छ भने पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपाले भने गणतन्त्र स्वीकार गरिसकेको छ ।

तीन महिनाअघि नै एकता हुने भनिए पनि केही विषयहरुमा सहमति जुट्न नसकेपछि एकता प्रक्रिया भाँडिएपछि सोमबार भने ती दुई पार्टीबीच एकता हुन लागेको हो । तर, सोमबारको एकता भने राजनीतिक मुद्दाहरुलाई थाँती राखेर कार्यकारी अध्यक्ष तथा संसदीय दलको नेतामा थापा र राष्ट्रिय अध्यक्षमा राणालाई चयन गरेर टुंगिने संकेत देखिएको छ ।

एकता प्रक्रियामा जाने भएपछि ती दुवै पार्टीले केन्द्रीय समितिमा बराबरी हिस्सा लिने भएका छन् । दुवै पार्टीका तर्फबाट १ सय ५० जना राखेर ३ सय जनाको केन्द्रीय समिति बन्ने जनाइएको छ । सम्भवतः आगामी बुधबार बस्ने एकतापछिको पहिलो बैठकमा केन्द्रीय समितिमा अट्ने ३ सय जनाकै नाम चयन भइसक्ने बताइएको छ ।

एकतापछि सो पार्टीले हिन्दू राष्ट्र कायम हुनुपर्ने कुरालाई साझा एजेन्डाका रुपमा उठाउने बताइएको छ । तर, राजसंस्था कायम राख्ने वा गणतन्त्र स्वीकार्ने भन्ने मुल राजनीतिक मुद्दालाई भने आगामी महाधिवेशनबाट टुंगो लगाउने जनाइएको छ । सो पार्टीले आगामी माघभित्रै महाधिवेशन गर्ने पनि आन्तरिक सहमति गरिसकेको छ ।

ती दुई पार्टी एकता भएपछि व्यवस्थापिका–संसदमा चौथो ठूला शक्तिको रुपमा रहने छ । अब सो पार्टीको संसदमा ३६ सिट रहने छ । एकतापछि पार्टीको चुनाव चिन्ह राप्रपा, नेपालको गाई नै रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्