राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते एकीकरण, अध्यक्षको जिम्मेवारी कमल थापालाई (सहमतिपत्रसहित)


३० कात्तिक । अब भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने भएको छ । गत साउन २५ गते यी दुई दलबीच एकता घोषणा कार्यक्रम राखिए पनि अन्तिम समयमा भने भाँडिन पुगेको थियो ।

पहिलो एकता प्रक्रिया भाँडिएको करिब तीन महिनापछि फेरि दुई दलबीच एकता गर्ने सैद्धान्तिक सहमति भएको हो । मंगलबार बसेको राप्रपा र राप्रपा नेपालको संयुक्त पदाधिकारी बैठकले यही मंसिर ६ गते पार्टी एकता गर्ने सहमति गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने सहमतिसहित दुवै पार्टीका अध्यक्षले चार बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापा नयाँ पार्टीको अध्यक्ष र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणा राष्ट्रिय अध्यक्ष हुनेछन् । संसदीय दलको नेताको जिम्मेवारी पनि थापाले नै लिने छन् ।

साउन २५ गते हुने भनिएको एकता भाँडिनुमा नेताहरुबीचको शक्तिको लडाइँ, विदेशी प्रभाव र सरकारमा सहभागिताको विषय मुख्य कारण रहेको थियो ।

राप्रपा अध्यक्ष राणाले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री सहभागी गराउने निर्णय गरेपछि राप्रपा नेपालले राजधानीको इन्द्रेणी फुडल्याण्डमा छुट्टै भेला आयोजना गरेर राप्रपा नेपालसँग एकीकरणको अभियान अन्त्य भएको घोषणा गरेको थियो ।

त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा दीपक बोहरा र विक्रम पाण्डेलाई मन्त्री बनाउने निर्णय राणाले गरेपछि राप्रपा नेपाल मात्र नभई राणाकै दलमा रहेको चन्द समूहले समेत विरोध गरेको थियो ।

केही दिनअघि नै राणाले दुई पार्टीबीच एकताको प्रयास अन्तिम चरणमा पुगेको बताएका थिए । राप्रपाका केन्द्रीय सदस्य जयन्त चन्दले पनि पहिलो न्युज डटकमसँग दुई पार्टीबीच मंसिरसम्ममा एकता गर्ने तयारी भएको बताएका थिए । उनले आम कार्यकर्ताको भावना पनि दुई पार्टी मिल्नुपर्छ भन्ने रहेको र आम कार्यकर्ताको पनि त्यही शुभेच्छा रहेको भन्दै मंसिरको दोस्रो सातासम्ममा पार्टी एकता हुने दाबी गरेका थिए ।

राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले पनि वृहत् राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियानमा राप्रपा नेपाल पहिलादेखि नै लागेको भन्दै अचानक रद्द भएको पार्टी एकीकरण प्रक्रियाले फेरि गति लिएको बताएका थिए । श्रेष्ठले त्यसो भनेको तीन–चार दिनपछि नै दुवै पार्टीबीच एकताको औपचारिक निर्णय भएको हो । एकतासँगै पार्टीले माघभित्र महाधिवेशन गर्ने तयारी गरेको जनाइएको छ ।     RPP

प्रतिक्रिया दिनुहोस्