राप्रपा र राप्रपा नेपालबीच मंसिर दोस्रो सातासम्ममा एकीकरण हुने


२५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच फेरि एकता प्रयास सुरु भएको छ । गत साउन २५ गते राप्रपा नेपाल र राप्रपाबीचको एकता घोषणा कार्यक्रम थियो । तर, अन्तिम समयमा भाँडिएको थियो । तत्कालीन समयको  एकता भाँडिनुमा नेताहरुबीचको शक्तिको लडाई, विदेशी प्रभाव र सरकारमा सहभागिताको विषय मुख्य कारण रहेको थियो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री सहभागी गराउँने निर्णय गरेपछि राप्रपा नेपालले राजधानीको इन्द्रेणी फडल्याण्डमा छुट्टै भेला आयोजना गरेर राप्रपा नेपालसँग एकीकरणको अभियान अन्त्य भएको घोषणा गरेको थियो । त्यसको ठीक चार महिनापछि राप्रपाका अध्यक्ष राणाले पाँचथरको फिदिममा पुगेर अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएपछि फेरि एकीकरणको विषयले चर्चा पाएको हो ।

त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा दीपक बोहरा र विक्रम पाण्डेलाई मन्त्री बनाउने निर्णयराणाले गरेपछि राप्रपा नेपाल मात्र नभई राणाकै दलमा रहेको चन्द समुहले समेत विरोध गरेको थियो । राणाले पाँचथर पुगेर दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने समेत बताए ।

उनले पाँचथर पुगेर त्यसो भन्दै गर्दा उनकै दल राप्रपाका केन्द्रीय सदस्य जयन्त चन्दले पनि पहिलो न्युज डटकमसँग दुई पार्टीबीच मंसिरसम्ममा एकता गर्ने तयारी भएको बताए । ‘आम कार्यकर्ताको भावना पनि दुई पार्टी मिल्नुपर्छ भन्ने छ,’ सासंद् समेत रहेका चन्दले भने, ‘मंसिरको दोस्रो सातासम्ममा पार्टी एकता हुन्छ ।’

यता राप्रपा नेपाल पनि एकता प्रक्रियाबाट नभाग्ने मनस्थितिमा छ । ‘वृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियानमा राप्रपा नेपाल पहिलादेखि नै लागेको छ,’ राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले भने, ‘अचानक रद्ध भएको पार्टी एकीकरण प्रक्रियाले फेरि गति लिएको छ ।’ उनले राष्ट्रिय आवश्यकतालाई पूरा गर्न एकताका लागि औपचारिक–अनौपचारिक छलफल सुरु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्