राप्रपा संयुक्तले समान विचार भएका पार्टीसँग एकताको पहल गर्ने


काठमाडौं, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले भरपर्दो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापना गर्न समान विचार र सिद्धान्त बोकेका राजनीतिक दल तथा व्यक्तिसँग एकताको पहल गर्ने भएको छ । काठमाडौंमा ५ र ६ साउनमा बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले एकता र सहकार्यको पहल गर्ने जिम्मेवारी अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई दिएको छ ।

बैठकले अध्यक्ष डा.लोहनीले पेस गरेको राजनीतिक प्रतिवेदन, आर्थिक समिति संयोजक श्याम तिमल्सिनाले पेस गरेको आर्थिक प्रतिवेदन र सचिवालय सदस्य बाबुराम बस्नेतले पेस गरेको जिल्ला समायोजन र संगठनसम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । राजनीतिक प्रतिवेदनमा सबै धर्मप्रति सम्मान व्यक्त गर्दै नेपालको पहिचान सर्वधर्मसापेक्ष हिन्दू राष्ट्रको कायम गर्ने, सबै पक्षको सहमति र साझा संस्थाको रूपमा राजसंस्थासहितको प्रजातन्त्र स्थापित गर्ने र यी असहमति कायम राख्र्दै नेपालको संविधान ०७२ सँग सहकार्य गर्ने उल्लेख छ । बैठकले मनसुनपछि सनातन धर्म सभ्यता पहिचान तथा संरक्षण यात्रा जनकपुरबाट लुम्बिनीसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगलाई संयुक्त राष्ट्रसंघले निर्धारण गरेका अधिकारबाट वञ्चित गराई सरकार मातहत राख्ने उद्देश्यले ल्याइएको मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक, पत्रकारको स्वतन्त्रताको हक, हितविरुद्ध ल्याइएको मिडिया विधेयक र सरकारले स्थगनमा राखेको गुठी विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ । त्यस्तै, बैठकले प्रेस स्वतन्त्रतालगायत प्रेसको वर्तमान अवस्था बारेमा ‘पार्टी–पत्रकार अन्तरक्रिया कार्यक्रम’ आयोजना गर्ने निर्णय पनि गरेको छ ।

थापाले भने–देशले बलियो राष्ट्रवादी शक्ति खोजिरहेको छ
समान विचारधारा भएका दलसँग एकता गर्ने राप्रपा (संयुक्त) को निर्णय सकारात्मक भएको राप्रपा अध्यक्ष कमल थापाले प्रतिक्रिया दिएका छन् । ‘हामी सबैको सहभागिता÷सहमतिमा भएको एकता महाधिवेशनको म्यान्डेट तथा समयानुकूल थप÷आवश्यक समझदारीका साथ विलम्ब नगरी पार्टी एकता गरौँ,’ अध्यक्ष थापाले भनेका छन्, ‘देशले बलियो राष्ट्रवादी शक्ति खोजिरहेको छ । राप्रपाको तर्फबाट एकताको अपिल गर्छु ।’नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्