रामसार सूचीमा सूचीकृत फेवाताल सङ्कटमा


३ साउन । मानवीय एवम् प्राकृतिक अतिक्रमणको सिकार बन्दै गएको रामसार सूचीमा सूचीकृत पोखराको फेवाताल उचित संरक्षणको अभावमा बर्सेनि सङ्कटमा पर्दै गएको छ ।

पोखराको गहनाका रुपमा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ निकै लोकप्रिय बने पनि बर्सेनि यसको जलाधार स्रोतका रुपमा रहेका हर्पन र अँधेरी खोलामा आउने बाढी तथा पहिरोका कारण अस्तित्व नै धरापमा पर्नसक्ने खतरा बढेको छ ।

माछापुच्छेको छाया देखिनुका साथै तालको बीचमा रहेको प्रसिद्ध बाराही मन्दिरका कारण धार्मिक पर्यटनको आकर्षण समेत बनेको यो ताल बर्सेनि पुरिँदै गए पनि संरक्षणको विषय अझै राज्यको प्राथमिकतामा पर्न नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए।

फेवातालको संरक्षणका लागि हर्पन, अँधेरी लगायतका खोलामा चेक ड्याम निर्माणका साथै बढ्दो अतिक्रमण र बाढीसहित आउने ढुङ्गा तथा माटो नियन्त्रण गर्नुपर्ने उनि बताउ छन् ।

समुद्री सतहबाट ७४२ मिटरको उचाइमा अवस्थित यस तालले लगभग ५.२३ वर्ग किमी क्षेत्रफल ओगटेको छ । तालको उत्तरमा रहेका अन्नपूर्ण हिमशृङ्खला २८ किमिको दूरीमा रहेको छ ।

यो ताल माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बका लागि पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

थापाका अनुसार तालमा जलकुम्भीको प्रभावका साथै बर्सेनि बाढीसहित आउने ढङ्गा माटोका कारण पुरिने क्रम बढ्दै गएको छ । फेवाताल मानवीय एवम् प्राकृतिक अतिक्रमणको सिकार बन्दै गएको भन्दै सरकारले त्यसबारे अध्ययन गरी प्रतिवेदन तयार गर्न २०६८ साल फागुनमा विश्वप्रकाश लामिछानेको अध्यक्षतामा फेवाताल अतिक्रमित जग्गा छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले तीन महिनाभित्रमा अतिक्रमणलाई रोक्न विभिन्न सुझाव सहितको प्रतिवेदन पेस गरे पनि त्यसको कार्यान्वयन अझै हुनसकेको छैन । समितिले २०६९ जेठमा बुझाएको प्रतिवेदनमा बर्सेनि आउने बाढीका कारण प्रतिवर्ष एक लाख ४० हजार मेट्रिक टन ढुङ्गा तथा बालुवासहितको लेदो थपिँदै गएको उल्लेख छ ।

समितिले फेवातालको संरक्षणका लागि तालको जलाधार क्षेत्रमा चेक ड्याम निर्माण गर्ने, तालको सिरान क्षेत्रमा परम्परागत धानखेती नगरी बागबानी निर्माण जस्ता विकल्प खोज्नुपर्र्ने, फेवातालमा मिसिने गरेका ढललाई तत्काल नियन्त्रण गर्नुपर्ने, वरपर जथाभावी भइरहेको बाटो निर्माण कार्य रोक्नुपर्ने जस्ता सुझाव दिएको अध्यक्ष लामिछानेले बताए ।

विभिन्न प्रतिवेदनका आधारमा फेवाताल विगत ४०÷५० वर्षको अन्तरालमा लगभग ५० प्रतिशत पुरिएको अनुमान लगाइएको छ । नापी विभागको २०६४ को प्रतिवेदनमा तालको गहिराइ १८ मिटर, लम्बाइ ४ किमि, चौडाइ १०० मिटरदेखि २ किमि रहेको उल्लेख छ ।

सन् १९५७ को नापीमा २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० यताका नापीमा घटेर नौ हजार ९५५ रोपनीमा सीमित भएको छ ।
पोखराको पर्यटकीय सौन्दर्यका रुपमा रहेको फेवाताल मानवीय एवम् प्राकृतिक अतिक्रमणमा पर्दै गएको प्रति राज्य एवम् सम्बद्ध निकायको ध्यान गम्भीर रुपमा आकृष्ट हुनुपर्ने देखिएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य विश्वशङ्कर पालिखेले बताए ।

फेवातालमा माटो पर्नसक्ने भन्दै बागलुङ–पोखरा सडक सुइखेतबाट लगिएको बताउँदै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यकारी सदस्यसमेत रहेका पालिखेले भने – “बाटो आवश्यक भए पनि जथाभावी खन्ने क्रमलाई रोक्दै खनिएका बाटो चाँडै व्यवस्थित गर्नुपर्छ र यसको संरक्षणका लागि सम्बद्ध सबै पक्ष र निकायको सक्रियता र सहकार्य आवश्यक छ ।”

विश्व रामसार सूचीमा सूचीकृत कास्कीका नौवटा तालको उचित व्यवस्थापन लागि सरकारले गृहकार्य अघि बढाएको छ । हरियो वन कार्यक्रमअन्तर्गत व्यवस्थापन योजना तय गर्ने जिम्मा पाएको संरक्षण विकास फाउन्डेसनले सरोकारवालसँग अन्तरक्रिया गरी योजनाको खाका तयार गर्न लागेको फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले बताए ।

रामसार सूचीमा सूचीकृत भएसँगै फेवातालको महत्व केवल पोखरामा मात्र नभएर विश्वव्यापी भएको बताउँदै उहाँले व्यवस्थापन योजना तयार भएसँगै यसको संरक्षणका लागि थप आधार तय हुने विश्वास व्यक्त गरे  ।

बाढीपहिरोका कारण बर्सेनि ताल पुरिँदै जानुले निकट भविष्यमा यसको अस्तित्व नै खतरामा पर्नसक्ने तर्फ सम्बन्धित सबै निकायको ध्यान जान अपरिहार्य भएको पोखरेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्