रामेछापमा खोलाले बगाउदा युवती वेपत्ता, १५ जनाको प्रहरीले ग-यो उद्धार


काठमाडौ, ३१ वैशाख । देशभर परेको अविरल वर्षा र हावाहुरीको कारण विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ। लगातार परेको पानीले बाढी, पहिरो र डुबान निम्त्याएपछि विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको हो । रामेछापको मन्थली नगरपालिका १ रणजोर खोलामा आएको बाढीले बगाएर एक युवती बेपत्ता भएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले उनीसँगै बेपत्ता भएका १५ जनालाई स्थानीय र प्रहरीले उद्धार गरेको छ।
बेपत्ता युवतीको खोजीकार्य भइरहेको छ प्रहरीले जनाएको छ। यस्तै पहिरोकै कारण मन्थली जोड्ने सडक अवरुद्ध भएको र खुलाउने काम भइरहेको प्रहरीले बताएको छ।वर्षाकै कारण सदरमुकाम मन्थली डुबानमा परेको छ।

त्यस्तैगरी, काभ्रेको रोसी गाँउपालिकास्थित माम्ती खोलामा आएको बाढीका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको छ।
त्यस्तै, आइतबार राति र सोमबार बिहान परेको अविरल वर्षाका कारण पाल्पाको तिनाउ गाउँपालिका हेट्बक्स भन्ने स्थानमा पहिरो जाँदा सिदार्थ राजमार्ग अवरुद्ध भएको छ।
सो राजमार्ग अवरुद्ध हुँदा पाल्पा, गुल्मी स्याङ्जा र पोखरा चल्ने यातायातका साधन प्रभावित भएका छन्।

त्यस्तै, वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छाका ८ घरमा क्षति पुगेको छ।
त्यस्तैगरी, वर्षा पछिको हावाहुरीका कारण रुपन्देहीको सिद्धार्थ नगरपालिका पिपरियाका सोराती हरिजनको घरमा क्षति भएको छ। रुख ढलेर उनको १ तले घर भत्केको प्रहरीले जनाएको छ।
रुपन्देहीकै मायादेवी गाउँपालिका ८ मा रुख ढलेर सडक अवरुद्ध भएको छ।
यस्तै, दाङको राजपुर गाउँपालिका ५ संगुवामा रहेको प्रहरी चौकीको भवन भत्किएको छ। वर्षापछिको हावाहुरीले प्रहरी चौकीको ब्यारेक भवनको छत उडाएर लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बाँके र बर्दियाको विभिन्न भाग डुबानमा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्