राष्ट्रपतिको सचिवालयमा पुराना विज्ञ आउट, नयाँको खोजी


काठमाडौं, ३० वैशाख
राष्ट्रपति विद्या भण्डारी निर्वाचित भएको दुई महिना बितिसक्दा पनि सचिवालय र विज्ञ समूहले अझै पूर्णता पाएको छैन । प्रधानमन्त्री केपी ओलीले सुशासनको नीतिअनुसार चुस्त र मितव्ययी सचिवालय समूह बनाएपछि राष्ट्रपति भण्डारीमाथि पनि त्यस्तै समूह निर्माण गर्नुपर्ने दबाब छ । यही दबाबका कारण उनले अहिलेसम्म सचिवालयलाई पूर्णता दिएकी छैनन् । अघिल्लो कार्यकालमा काम गरेका विज्ञ र सचिवालय समूहका एक दर्जन जति बिदा भएका छन् । तथापि, अघिल्लो कार्यकालमा राम्रो काम गर्ने केहीलाई भने पुन ः निरन्तरता दिइएको छ । केही विज्ञको भने खोजि भइरहेको स्रोतले जनाएको छ ।
५ वर्षे कार्यकालका लागि स्वकीय सचिवमा डा. भेषराज अधिकारीलाई पुनःनियुक्ति दिइएको छ । राष्ट्रपतिको अत्यन्त निकट रहेर कार्यसम्पादन गर्दै आएका अधिकारीले दैनिक कामकाजका लागि सचिवायको कामको कमाण्ड सम्हाल्नेछन् । उनले राम्रो कार्यसम्पादन गरेको राष्ट्रपति भण्डारीको मूल्यांकन रहेको स्रोतले जनाएको छ । त्यस्तै, उनको मातहतमा जनसम्पर्क हेर्नेगरी स्वकीय सहसचिवमा शिव भट्टराई र स्वकीय उपसचिवमा दिपा शर्माले निरन्तरता पाएका छन् । दुवैले राम्रो कार्यसम्पादन गर्दै आएको मूल्यांकनका आधारमा निरन्तरता दिइएको राष्ट्रपति निकट स्रोतले जनाएको छ । भट्टराईले राष्ट्रपतिमा नियुक्ति हुनुअघि पनि तत्कालीन एमाले उपाध्यक्ष विद्या भण्डारीको सचिवालय हेर्थे । शर्माले राष्ट्रपतिको आन्तरिक काममासमेत सघाउँदै आएकी छिन् ।
उता, यसअघि सचिवालयमै स्वकीय सहसचिवमा नियुक्त जिवच्छ शाह र नवराज गौतमले पुनःनियुक्ति पाएनन् । विज्ञ समूहतर्फ राजनीति, सामाजिक र मानवअधिकारलगायतका मामिलामा सल्लाह दिँदै आएका विज्ञ सुशील प्याकुरेललाई मात्र पुनःनियुक्ति दिइएको छ । उनीबाहेक अहिलेसम्म राष्ट्रपतिले कसैलाई पनि विज्ञ नियुक्ति गरिसकेकी छैनन् । यसअघि परराष्ट्र विज्ञ रहेका मदनकुमार भट्टराईको पनि अहिलेसमम्म नियुक्ति भएको छैन । पूर्व परराष्ट्र सचिवसमेत रहेका भट्टराईको पुनःनियुक्ति हुने÷नहुने टुंगो लागिनसकेको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।

त्यस्तै, संचार संयोजनको काम हेर्दै आएका वरिष्ठ पत्रकार माधव शर्मालाई बिदाई दिइएको छ । ठूला मिडिया र राष्ट्रपति कार्यालय बिट हेर्ने पत्रकारहरुसँग राम्रो समन्वय गर्न नसकेको, राष्ट्रपतिलाई ‘बिट’ हेर्ने पत्रकारहरुलाईसमेत भेटघाट गराउन नसकेकोलगायतका आरोप उनीमाथि लाग्दै आएको थियो ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रेस सल्लाहकार राजेन्द्र दाहालकै उचाईको व्यक्तित्व खोजी हुँदा तत्कालीन एमाले अध्यक्ष केपी ओलीसमेतको रुचिमा यसअघि शर्मा राष्ट्रपतिको संचार विज्ञमा नियुक्त भएका थिए । तर, उमेरले परिपक्व भए पनि शर्माले दाहालले जस्तै काम गर्न नसकेको पत्रकारहरुले चर्चा गर्दै आएका थिए । अहिले उनको स्थानमा ‘जुनियर’तहकै कामकाजी व्यक्तिलाई मिडिया संयोजनको जिम्मेवारी दिने कि, लामो समय पत्रकारिता गरेको उचाईको व्यक्तित्वलाई ल्याउनेबारेमा अनौपचारिक छलफल भइरहेको बताइएको छ ।
राष्ट्रपति कार्यालयमा संचारकर्मीहरुलाई बोलाएर अनौपचारिक भेटघाट नगराएकोमा असन्तुष्ट राष्ट्रपति भण्डारीले एक महिनाअघि एक निकटस्थ पत्रकारलाई बोलाएर को–को बिट हेर्छन्, कस्तासँग सम्पर्कमा रहनुपर्छ भन्दै गोप्य परामर्शसमेत गरेकी थिइन् ।
त्यस्तै, केही अधिकृतहरुको पनि नियुक्ति भएको छ । अघिल्लो पटक फोटोग्राफर रहेका सुनिल बज्राचार्यले सोही पदमा पुर्ननियुक्ति पाएका छन् । त्यस्तै, गीता शर्मा र हरिबहादुर चन्दले पनि अधिकृतमा नियुक्ति पाएका छन् । उनीहरु दुवै नयाँ अनुहार हुन् । स्रोतका अनुसार अघिल्लो पटक अधिकृत तहमा नियुक्त भएकी युवा संघ नेपालमा आबद्ध भक्तपुरकी एक कार्यकर्तालाई भने बिदाई गरिएको छ । उनीसहित कार्यसम्पाद राम्रो नभएकाहरुको पुनःनियुक्ति नहुने निश्चित भएको राष्ट्रपति कार्यालयकै एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्