राष्ट्रपतिलाई ढुक्क पार्दै प्रधानमन्त्री दाहालले भने, ‘घोषित मितिको चुनाव रोकिँदैन’


१८ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रले एकाएक महाभियोग प्रस्ताव दर्ता गरेपछि आसन्न स्थानीय तहको निर्वाचनबारे पुनः अन्योल छाइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने क्रममा भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा ठोकुवा गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री दाहालले आज समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने क्रममा सो कुरा अवगत गराएका हुन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्तावका विषयमा छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राखेकी थिइन् । निर्वाचनका बारेमा भने प्रधानमन्त्री दाहालले घोषित वैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले घोषणा भइसकेको निर्वाचन नरोकिने र त्यसलाई पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर नपार्ने बताएका थिए ।

राष्ट्रपतिले प्रधानन्यायाधीशका सम्बन्धमा राखेको जिज्ञासामा भने प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट पारेका थिए । भेटवार्ता करिब डेढ घन्टा भएको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्