राष्ट्रपति कृषक पुरस्कार पाउने चौधरीले वार्षिक कमाउँछन् दस लाख


२ मङ्सिर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ का वन्धुराम चौधरीले वार्षिक ५० क्विन्टल माछा बिक्री गर्दै आएका छन् । दुई दशकदेखि माछापालन व्यवसायमा संलग्न चौधरीले सुरुमा एक लाख लगानी गरी दुईवटा पोखरीमा माछापालन गरेका थिए । अहिले भने उनले ३६ लाख लगानी गरेर सात बिगाहा जग्गामा सातवटा पोखरी निर्माण गरेका छन् ।

चौधरीले व्यवसाय विस्तार गरेसँगै आम्दानी बढेको हो । ‘माछापालनमा वार्षिक रु २० लाख खर्च लाग्छ, खर्च कटाएर रु १० लाख आम्दानी हुने गरेको छ,’ उनले भने । चौधरीले पोखरीमा सिल्भर, विगहेड, कमन, रोहु, नैनी, भ्याकुर, ग्रासलगायत सात प्रजातिका माछापालन गरेका छन् ।

उत्पादित माछा कञ्चनपुर र कैलालीसँगै भारतीय सीमावर्ती क्षेत्रका व्यवसायीले पोखरीबाटै खरिद गरेर लैजाने गरेका छन् । ‘बिक्री गर्न बजारको समस्या छैन,’ उनले भने । उनले माछाका भुरा उत्पादनका लागि ह्याचरी स्थापना गर्ने सोच समेत बनाएका छन् ।

पोखरी रेखदेख गरेबापत स्थानीय चार जनाले रोजगारीसमेत पाएका छन् । उनी माछापालनमा यस वर्षको राष्ट्रपति कृषि पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्