राष्ट्रियसभाको सदस्य बन्न वामदेव गौतमलाई उम्मेदवारको मापदण्ड नै वाधक


काठमाडौँ, २८ पुस  । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने चर्चा चलिरहेका बेला उनी सो मापदण्ड भित्रै नपर्ने विधि एमालेले तय गरेको छ ।  एमाले केन्द्रीय सचिवालयको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिशको विधि तय गर्दा गौतम नअटाउने भएका हुन् । पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा कार्यवाहक अध्यक्षसमेत रहेका गौतमकै प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले यस्तो विधि तय गरेको हो । 

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको छ । सो मापदण्डलाई आधार मान्ने हो भने गौतम अटाउने छैनन् । उनी भर्खरै सम्पन्न केन्द्रीय निर्वाचनमा वर्दियाबाट हारेका व्यक्ति हुन् । आगामी माघ २४ गते हुने सो सभाको निर्वाचनका लागि एमालेले नेकपा (माओवादी केन्द्र) सँग तालमेल गर्नेछ ।
यस्तै स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने भएको छ ।

उम्मेदवारी सिफारिशका लागि प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्डअनुसारको नाम सिफारिश गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले केही दिनयता तराई–मधेशमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । त्यसरी विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कैयौँ व्यक्तिको ज्यान गएको र धेरै गम्भीर बिरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीलाई तत्काल परिचालित हुन पनि निर्देशित गरेको छ

प्रतिक्रिया दिनुहोस्