राष्ट्रियसभा जनप्रतिनिधिको पनि प्रतिनिधि संस्थाः अध्यक्ष तिमिल्सिना


काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको राष्ट्रियसभा जनप्रतिनिधिको पनि प्रतिनिधि संस्था भएको बताएका छन् । नेपाल भ्रमणमा रहेको संयुक्त राज्य बेलायतको संसदीय टोलीले मंगलबार सिंहदरबारमा गरेको शिष्टचार भेटमा अध्यक्ष तिमल्सिनाले त्यस्तो बताएका हुन् ।
स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रदेशसभाका सांसदले निर्वाचित गरेर राष्ट्रियसभामा पठाउने भएकाले यसलाई जनप्रतिनिधिको पनि प्रतिनिधि संस्था भएको अध्यक्ष तिमिल्सिनाले बेलायती संसदीय टोलीलाई जानकारी गराए । नयाँ संविधानअनुसार बनेको राष्ट्रियसभा र प्रतिनिधिसभाले आफ्नो कार्य प्रारम्भ गरिसकेको जानकारी गराउँदै उनले स्थानीय, प्रदेश र केन्द्रसम्म नै प्रतिनिधित्व समावेशी रहेकाले समानतामुलक समाज निर्माणतर्फ देश अगाडि बढिसकेको बताए ।
‘स्थानीय, प्रदेशसँगै संघीय संसदमा पनि महिलाको प्रतिनिधित्व उल्लेख्य रहेको छ । राष्ट्रिय सभामा ५९ जना मध्ये २२ जना महिला रहेका छन् भने प्रतिनिधि सभामा २७५ जना सदस्य मध्ये ९० जना महिला सदस्य छन्,’ उनले भने । अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा समावेशी दृष्टिकोणले सबैभन्दा अगाडि रहेको बताउँदै महिला, दलित, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तको प्रतिनिधिमुलक संस्था भएको जानकारी बेलायती प्रतिनिधमण्डललाई जानकारी गराए ।
प्रतिनिधिमण्डलसँगको भेटमा नेपाल र बेलायतको संसदीय अभ्यासको अनुभव आदानप्रदान तथा सम्बन्धमा केन्द्रीत रहेर छलफल भएको थियो । त्यसक्रममा उनले दुई देशका सरकार सरकारबीच औपचारिक सम्बन्ध स्थापित भएको दुईसय भन्दाबढी वर्ष भइसकेकोले सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताए । उनले दुई देशबीच बेलाबेलामा हुने उच्च स्तरीय भेटघाटले सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने धारणा राखे ।
उनले संसदमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन भएको र त्यसलाई संविधान सभामा निरन्तरता दिन नसकेको जानकारी गराउँदै अब संघीय संसदको कार्यकालमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन गर्ने प्रयास गर्ने पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्