राष्ट्रियसभा जान एमालेका यी नेताहरुले देखाए आकांक्षा


३० पुस । राष्ट्रियसभाको निर्वाचन जतिजति नजिकिँदै छ, विभिन्न राजनीतिक दलका नेताहरुमा उत्ति नै आकांक्षा बढ्दै गएको छ । अझ, नेकपा (एमाले) त राष्ट्रियसभाका उम्मेदवार बन्नेहरुका लागि मापदण्ड तय गरेपछि आकांक्षीहरुको संख्या बढ्न थालेको छ ।

तीन सातापछि राष्ट्रियसभाको निर्वाचन हुने गरी निर्वाचन आयोगले कार्यतालिका ल्याएपछि विभिन्न राजनीतिक दलले राष्ट्रियसभाका सम्भावित उम्मेदवारहरुबारे आन्तरिक रुपमा छलफल प्रारम्भ गरेको छ । यही क्रममा एमालेका केही पुराना नेताहरुले आफ्नो पक्षमा लबिइङ गर्नसमेत थालिसकेका छन् ।

एमाले नेता एवं सांस्कृतिककर्मी लक्ष्मण रायमाझीले आफ्नो पक्षमा ‘लक्ष्मण रायमाझी र राष्ट्रियसभा’ शीर्षकको सानो लेख नै लेखेर लबिइङ गर्न थालेका छन् । रायमाझीले प्रदेश नं. ५ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गरी लबिइङ थालेका हुन् । उनले एमालेले बनाएको मापदण्डभित्र आफू पर्ने भएको जनाउँदै आफूले एमालेलाई पु¥याएको योगदानको कदर होस् भन्ने अनुरोध पनि गरेका छन् ।

यसैगरी, एमाले नेता प्रदीप नेपालको पक्षमा पनि उनका आफन्त र शुभेच्छुकहरुले लबिइङ थालेका छन् । नेता नेपाललाई राष्ट्रियसभामा लैजानुपर्ने भन्दै सामाजिक सञ्जालहरु भरिन थालेका छन् । नेता नेपालका आफन्तहरुले राष्ट्रियसभाका लागि उनको मापदण्ड पुगेको कुरा उल्लेख गरेका छन् । यसअघि एमालेले पुस २८ गते राष्ट्रियसभाका लागि मापदण्ड तोकेको थियो । जसमा, संविधानको धारा ८७ बमोजिम योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका, भौगोलिक र सामाजिक सन्तुलन, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार नबनेका वा समानुपातिक सूचिमा नाम समावेश नभएका र विभिन्न तहका विज्ञ र विशेषज्ञहरु भनेर उल्लेख गरिएको छ ।

राष्ट्रियसभाका लागि १ नम्बर प्रदेशबाट परशुमेघी गुरुङ, जगन्नाथ खतिवडा, जयन्ती राई, खेम नेपालीलगायतले आकांक्षा देखाएका छन् । यसैगरी, २ नम्बर प्रदेशबाट यदुवंश झा र प्रभु हजारा पासवानले इच्छा देखाएका छन् । ३ नम्बर प्रदेशमा वेदुराम भुसाल, विष्णु रिमाल, रघुजी पन्त र सावित्रा भुसाललगायतले आकांक्षा देखाएका छन् ।

प्रदेश नं. ४ बाट गणेश तिमल्सिना, श्रीनाथ बराल, श्रीमाया थकाली, चक्रबहादुर पराजुलीले आकांक्षा देखाएका छन् भने प्रदेश नं. ५ बाट खिमलाल भट्टराई, पुष्पाञ्जली उपाध्याय, दलबहादुर सुनार र झपेन्द्र जिसीले आकांक्षा राखेका छन् । यसैगरी, ६ नम्बर प्रदेशबाट उदय बोहरा, निरज आचार्य, नन्दा शर्मालगायतले इच्छा राखेका छन् भने ७ नम्बर प्रदेशबाट उर्वादत्त पन्त, रामकुमार ज्ञवाली, पुरनसिंह दयाललगायतले आकांक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्