राष्ट्रियसभा नियमावली आज पारित हुँदै


काठमाडौ, २७ जेठ । चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आइतबार पारित हुँदैछ । नियमावली पारितका लागि आइतबार बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ ।

राजनीतिक दलबीचको विवादका कारण नियमावली मस्यौदा सम्पन्न भएको लामो समयसम्म पनि पारित हुनसकेको थिएन । सङ्घीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले राष्ट्रियसभाको आइतबारको बैठकमा नियमावली पारितको कार्यसूची रहेको बताए ।

सङ्घीय संसद्को अधिवेशन सुरु भएको तीन महिनापछि शुक्रबार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भएको थियो । प्रतिनिधिसभाको नियमावली पारितसँगै आइतबार राष्ट्रियसभा तर्फको नियमावली पारित हुन लागेको हो ।

राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन नै अन्तिम नियमावलीको रुपमा पारित हुन लागेको हो । समितिले तयार पारेको प्रतिवेदन अनुसार राष्ट्रियसभामा चार विषयगत समिति रहनेछन् ।

जसमा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेछन् ।
यस्तै, विषयगत समितिबाहेक सभामा एक विशेषाधिकार समिति गठन हुनसक्ने व्यवस्था रहेको छ । यस्तै, राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा नै आचारण अनुगमन समिति पनि गठन हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्