राष्ट्रिय अभियानको दोस्रो दिनः तीन ठाउँमा सभा, माओवादीका केन्द्रीय परिषद् सदस्यसहित सयौँ एमाले प्रवेश


२२ फागुन । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान दोस्रो दिन आइतबार मोरङ र सुनसरीमा भव्य कार्यक्रम गर्दै सम्पन्न भएको छ । शनिबारबाट झापाको दमकमा बास बसेको अभियानको केन्द्रीय टोली विहान त्यहाँबाट हिँड्दा बाटोमा हजारौँ कार्यकर्ताले फूलमाला र अबिरले स्वागत गरेका थिए ।

मोरङको विराट चोकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन नेकपा (एमाले) को मात्र माग नभएर सिंगो राष्ट्र र नेपाली जनताको माग भएको उल्लेख गरे । सभामा कुन नेताले के–भने बुँदामा हेर्नुहोस ?

  • यो चुनाव प्रचार अभियान होइन, भ्रम तोड्न राष्टिय अभियान चलाएका छौँ । हामीले मधेसमा संविधानका बारेमा बोल्यौँ भने आफ्नो भ्रमको खेती सकिन्छ भनेर अवरोध खडा गर्न खोजिएको छ । तर, नेकपा (एमाले) लाई मुलुकका कुनै पनि भूभागमा जानबाट कसैले रोक्न सक्दैन ।
  •  यो संविधान नेपाली जनताले आफ्ना लागि आफैँ बनाएका हुन् अरु कसैले चिन्ता गर्नुपर्दैन ।
  •  नेकपा (एमाले) सत्ताका लागि आफ्ना मान्यताहरुलाई तिलाञ्जली दिने पार्टी होइन । हाम्रा लागि राष्ट्र सबभन्दा ठूलो छ ।
    कार्यक्रममा बोल्दै उपाध्यक्ष भीमबहादुर रावलले ५ वर्ष ८ महिना लगाएर संविधान बनाउँदा पपनि रातारात बनाइएको, सबैको सहभागिता नभएको भन्ने जस्ता गलत प्रचार गरिएको भन्दै तथ्यांकमा हेर्न आग्रह गरे । उनले ९० प्रतिशत जनताका प्रतिनिधि, मधेसी, जनजाति, महिला, मुस्लिम, थारु, दलितको ठूलो हिस्साले समर्थन गरेकाले यसलाई केही सीमित मानिसले पूर्वाग्रहपूर्ण रुपमा गलत प्रचार गरेको बताउँदै भने– ‘हाम्रो चुनौती छ– विश्वमा यति समावेशी, समानुपातिक र पहिचान झल्काउने संविधान कुन देशमा छ ?’
    स्थायी समिति सदस्य सुवास नेम्वाङले नेकपा (एमाले) लाई मधेस र जनजाति विरोधी भनेर जति चर्को प्रचार गर्न खोजिए पनि त्यो तथ्यमा आधारित नभएको बताए । उनले भने– ‘हामीलाई मधेस र जनजाति बहुल क्षेत्रका जनताले सधैँ माया गरिरहेका छन् । ती ठाउँबाट हाम्रो पार्टी विजयी हुँदै आएको छ । बरु, मधेसमा आफूलाई मधेसवादी भन्ने र जनजाति बहुल ्क्षेत्रमा जनजातिवादी भन्नेहरु नै पराजित भएका छन् ।’ भारतमा ६५ प्रतिशत र अमेरिकामा ५२ प्रतिशत मतबाट संविधान बनेको उदाहरण दिँदै उनले भने–‘हामी अरु कुनै मुलुकका आन्तरिक मामिलामा बोल्दैनौँ । गत वर्ष भारतमा पटेल र जाटहरुले ५० औँ लाखका जुलुस निकाले, दिल्ली जाने पानीका मुहान थुने । तर, हामीले भारतको आन्तरिक मामिलामा बोलेनौँ । हामी पनि चाहन्छौँ, भारतले पनि हाम्रा आन्तरिक मामिलामा नबोलोस् ।’
    पार्टीका केन्द्रीय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज डा. शिवमाया तुम्बाहाम्फेको अध्यक्षता र मोरङ जिल्ला अध्यक्ष विनोद ढकालको सञ्चालनमा आयोजित सभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।
    सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिका लागि संविधान कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै त्यसका सबैबीच एकताको आवश्यकता भएकोमा जोड दिए ।
  •  नेकपा (एमाले) ले नेतृत्व गरेका हरेक सरकारले मधेसलाई विशेष ध्यान दिएका छन् । तराई समस्या अध्ययन कार्यदल, मदरसा अध्ययन कार्यदल निर्माणदेखि मधेसमा दोस्रो अन्तर्राष्यिय विमानस्थल, हुलाकी राजमार्गलाई गति, तराई जोड्ने द्रूत मार्ग निर्माण, मधेसका सदरमुकामलाई विशेष बजेट, बाटो विस्तार, सिचाइँ आयोजना जस्ता काम हामीले गरेका छौँ ।
  •  संविधान संशोधनको कुरा गर्दा देशको हितलाई ध्यानमा राख्नुपर्छ, विदेशको हितलाई होइन । हामीले संशोधन हाम्रा लागि गर्ने हो, अरुका लागि होइन ।
  •  कम्युनिस्ट पार्टी र मधेसको सम्बन्ध अन्योन्याश्रित छ । नेकपा (एमाले) र मधेसको सम्बन्ध नङ र मासु जत्तिकै छ । यसको स्थापना, विकास र विस्तार मधेसमै भएकाले कसैले चाहेर पनि हामीलाई अवरोध गर्न सक्दैन ।
  •  चुनावका लागि खुट्टा नकमानुहोस् । जनतामा जाऔँ, के कति पानीमा छ, त्यहीँ थाहा हुन्छ ।
  • कार्यक्रममा स्थायी समिति सदस्य सुबास नेम्वाङले संविधानसभाबाट संविधान जारी गर्नका लागि विगतमा भएका आन्तरिक कसरतहरुको चर्चा गर्दै संविधान निर्माण प्रक्रियामा सहभागी भए पनि अन्तिममा मधेसी दलहरुले निहुँ खोजेको बताए । कार्यक्रम पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौलाको अध्यक्षता र सुनसरी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीको सञ्चालनमा आयोजना भएको थियो । झापाबाट सुनसरीतर्फ आउँदा बीचमा पर्ने बजारमा जनसमुदायको ठूलो समूह उपस्थित भएका कारण कोणसभाहरु पनि आयोजना भएका थिए ।
    उर्लाबारीमा आयोजित सभालाई पार्टीका सचिव प्रदीप ज्ञवाली, पथरीमा आयोजित सभालाई स्थायी समिति सदस्य शंकर पोखरेल र बेलबारीमा आयोजित सभालाई पोलिट्ब्युरो सदस्य भानुभक्त ढकालले सम्बोधन गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय परिषद् सदस्य भोला दाहालसँगै नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाललगायतका दल परित्याग गरी सयौँ नेता–कार्यकर्ता एमाले प्रवेश गरेका थिए । सोमबार फागुन २३ गते सुनसरीको इनरुवा, सप्तरीको राजविराज र कञ्चनपुरमा कार्यक्रम आयोजना हुने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्