‘राष्ट्रिय एजेण्डामा साझा राष्ट्रिय नीति बनाउनुस्’


काठमाडौं, २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेतासँगको साँढे दुई घण्टा भेटवार्तामा राष्ट्रिय एजेण्डामा साझा धारणासहित अघि बढ्न गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतालाई पहिलोपटक सोमबार साँझ बोलाएर राष्ट्रपति भण्डारीले राष्ट्रिय एजेण्डाबारे गम्भीर ध्यानाकर्षण गराएकी हुन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलका अनुसार राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन र राष्ट्रिय एजेण्डामा साझा राष्ट्रिय नीतिका आधारमा एकताका साथ अघि बढ्न प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको ध्यानाकर्षण गराएकी छिन् ।

भेटवार्तामा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिए । राष्ट्रपति र शीर्ष नेताहरुबीच साँढे दुई घण्टा छलफल भएको थियो ।

राष्ट्रपतिको तीन ध्यानाकर्षण

समाजवादको साझा ब्याख्या
राष्ट्रपति भण्डारीले दलहरुले मिलेर संविधानको प्रस्तावनामै देश समाजवादको दिशामा अघि बढ्ने उल्लेख गरिसकेकाले अब देशमा कस्तोखाले समाजवाद ल्याउन खोजिएको हो साझा धारणा बनाउन ध्यानाकर्षण गराइन् ।

साझा परराष्ट्र नीति
राष्ट्रपति भण्डारीले बदलिएको परिस्थितिमा साझा परराष्ट्र नीति बनाउन पनि सुझाव दिइन् ।  ‘संविधान कार्यान्वयन, समाजवादको न्युनतम ब्याख्या, परराष्ट्र नीतिमा साझा धारणा बनाउनुस्, राष्ट्रपतिको ध्यानाकर्षण उद्धृत गर्दै प्याकुरेलले भने,‘ तपाईंहरुका आ–आफ्ना नीति, सिद्दान्त छन्, तर संविधान, लोकतान्त्रिक मूल्य–मान्यतालाई अघि राखेर व्यबहार गर्नुस्, अग्रज नेताको त्याग वलिदानबाट गणतन्त्र संस्थागत गर्न भूमिका खेल्नेगरी राष्ट्रिय एजेण्डामा साझा नीति बनाउनुस् ।’

 अतिवाद र पृथकवाद परास्त गर्न एक हुनुस
राष्ट्रपतिले अहिले संविधानलाई असफल पार्ने हिसाबले अतिवाद र पृथकतावादले टाउको उठाउन खोजेको र कतिपय शक्ति सशस्त्र संघर्षबाट अघि बढ्न खोजेकोतर्फ ध्यानाकर्षण गराउँदै देशलाई एकताबद्ध बनाएर संविधान कार्यान्वयन गर्ने कुरामा सत्ता पक्ष र प्रतिपक्ष नभनिकन एकजुट हुन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्