राष्ट्रिय युवा परिषदमा युवा मन्त्रीको १ घण्टा ३६ मिनेट


१ भदौ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईली बुधवार १ बजेर १४ मिनेट जाँदा त्रिपुरेश्वरस्थिति राष्ट्रिय युवा परिषद्को कार्यालय पुग्दा त्यहाँका कर्मचारी मात्र होइन कार्यकारी उपाध्यक्ष माधब ढुंगेल पनि निकै हतारमा थिए ।

‘आधा घण्टा अघि मात्र मन्त्रीज्यू आउने जानकारी भयो, त्यसैले व्यवस्थापन मिलाउन अलिक समस्या भयो’ ढुंगेलले आफ्ना कर्मचारीसँग यसो भन्दै गर्दा मन्त्रीको झण्डावाल गाडी गेटबाट भित्र छिर्यो ।

करिब १५ मिनेट अघिदेखि मन्त्रीको स्वागतमा बसेका ढुंगेल र कर्मचारीले मन्त्री र उनीसँगै आएका सचिव, सह–सचिवलाई पनि स्वागत गरे । एक हुल मानिससँगै परिषद्को कार्यालय छिरेका मन्त्रीले सबै भन्दा पहिला भूँईतलामा रहेको युवा सूचना केन्द्रको अवलोकन गरे ।

त्यसपछि दोस्रो तलामा लगेर ढुंगेलले कर्मचारीहरुको कार्यकक्ष देखाए । युवा केन्द्रित नारा र योजनाहरु भित्ताभरी देखेर मन्त्रीले हल्का मुस्कान छाड्दै भने– ‘राम्रो गर्नुभएको रहेछ, युवा भनेको युवा नै हो, केही नयाँ सिर्जना त भै हाल्छ नि !’ मन्त्रीले त्यसो भन्दा ढुंगेल पनि मुसुक्क मुस्कुराए । ढुंगेल र राष्ट्रिय युवा परिषद्का सह–सचिवसहितको टोलीले फेरि मन्त्रीलाई तेस्रो तेस्रो तलामा उकायो । ढुंगेलको कार्यकक्ष पनि त्यहीँ थियो । एकछिनको निरीक्षणपछि मन्त्रीसहितको टोली फेरि कार्यालय भवनको ‘टप’मा पुग्यो । बैठक कक्ष पनि त्यहि रहेछ ।

करिब एक दर्जन कर्मचारी, केही सञ्चारकर्मी, मन्त्रालयका कर्मचारीसहित मन्त्री पनि बैठक कक्षमा सहभागी भए । केहीबेर राष्ट्रिय युवा परिषद्को तर्फबाट एक सहसचिवले ‘विफ्रिङ’ गरेपछि कार्यकारी उपाध्यक्ष ढुंगेले आफ्ना योजनाहरु मन्त्रीलाई सुनाए । मन्त्रीले पनि सबै कुरा टिप्दै गए ।

फेरि केही बेर युवा तथा खेलकुद मन्त्रालयका सचिवले आफ्ना कुरा राखे । सचिवले बोलेका कुरा पनि मन्त्रीले टिप्दै गए । मन्त्री नियुक्त भएपछि पहिलो पटक आएका मन्त्रीले के निर्देशन दिने हुन्, कत्तिको हप्की खानु पर्ने हो भन्ने कौतुहलमा बसेका कर्मचारी जब मन्त्री बोल्न थाले अनि जिल्ल परे ।

माओवादी कोटाबाट मन्त्री नियुक्त भएका मन्त्रीले राजनीतिक रुपमा पूर्वाग्रही भएर केही आलोचना गर्लान कि भन्ने आशंका स्वयम् कार्यकारी उपाध्यक्ष ढुंगेललाई पनि थियो । तर, मन्त्री श्रीपाईलीको मन्तव्यपछि उनी पनि दंग परे ।

म कर्मचारी होइन परिवार भन्छु

मन्तव्यको सुरुमै मन्त्रीले कार्यालय नयाँ भए पनि व्यवस्थापन पुरानो जस्तै भएको भन्दै सबैको प्रशंषा गरे । ‘कर्मचारी थोरै हुनुहुँदो रहेछ,’ उनले भने, ‘यति कर्मचारीले पनि यति राम्रो व्यवस्थापन गरेको देखेर खुशी लाग्यो ।’ उनले एक करोड सात लाख युवाको नेतृत्व गर्ने राष्ट्रिय युवा परिषद्ले एक्लै अघि बढ्न खोजे सम्भब नहुने भन्दै सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । ‘यो संस्था एक करोड ७ लाख युवाको आस्था हो,’ उनले भने, ‘एक्लै होइन सहकार्य गरेर अघि बढ्नुपर्छ ।  म मन्त्री भएकाले यो संस्थाको अध्यक्ष हुँ, माधवजीको काँधमा सबै कुरा छ । तपाईंले नेतृत्व गर्नुभएको छ । अघि बढ्नुहोस् । म केही कुराको कमी हुन दिन्न ।’ मन्त्री श्रीपाईलीले त्यसो भन्दा ढुंगेल फेरि एक पटक मुस्कुराए । उनको मुस्कानसँगै कर्मचारीले पनि ताली बजाएर मन्त्रीको आश्वासनलाई स्वागत गरे ।

सुरुदेखि नै कर्मचारीलाई उत्प्रेरणा दिने गरी सम्वोधन गर्दै आएका मन्त्री श्रीपाईलीले मेरा कर्मचारी नभनेर मेरा परिवारका सदस्य भनी सम्वोध गर्दा कर्मचारी झन् उत्साही भए । ‘म नयाँ छु, तपाईंहरु मेरो परिवारको सदस्य हो,’ मन्त्रीले भने, ‘तपाईंहरुलाई के–के समस्या छ, नलुकाई भन्नुहोला, सबै मिलेर समस्या समाधान गर्दै जानुपर्छ ।’

पुरानो संस्कार छाडौँ, नयाँको सुरुवात गरौँ

करिब आधा घण्टाको मन्तव्यमा मन्त्री श्रीपाईलीले मन्त्रीज्यू आउनु भयो, अब बोल्नु हुँदैन । कार्यकारी उपाध्यक्ष, सचिव, सह–सचिवसँग त बोल्नै हुँदैन भन्ने संस्कारको अन्त्य गर्न सुझाव दिए । ‘म युवा हुँ, म नयाँ सिर्जना चाहन्छु । तपाईंहरुसँग पनि त्यहि अपेक्षा छ । कसैलाई पनि ढोग्ने काम नगर्नुहोला’ उनले भने, ‘म कम बोल्छु, काम गरेर देखाउँछु, तपाईंहरु पनि ढिला–सुस्ती नगर्नु होला । संस्था नयाँ छ, काम गरेर विश्वास जित्नुहोला ।’

सोच्ने र साथमा लिएर जाने कुरालाई सँगै लैजाऔँ

मन्त्री श्रीपाईलीले घुमौरो पारामा मन्त्री बन्ने वित्तिकै सबै लथालिङ्ग बनाउने योजनामा आफू नभएको खुलाए । ‘सोच्ने र साथमा लिएर जाने कुरालाई सँगै लैजाऔँ,’ उनले भने, ‘राजनीतिक नियुक्तिमा कसैलाई सबै कुरा चित्त नबुझेको पनि हुनसक्छ । त्यसलाई मिलाएर लैजानुपर्छ । झगडा गरेर होइन नीति र विधानलाई आधार मानेर अघि बढ्नुपर्छ । म नयाँ काम गर्न आएको हुँ । अघि बढाउँदा विग्रिदैन । तर, पछि धकेल्नु हुँदैन । पछि धकेल्दा विग्रिन्छ ।’

परिषद्को आफ्नै भवन बनाउँन लाग्नुहोला

मन्त्रीले युवा परिषद्ले आफ्नै भवन बनाउँने योजना अघि सारेको आफूलाई पनि चित्त बुझेको बताए । ‘राम्रो कामको थालनी गर्नुभएको छ,’ उनले भने, ‘त्यसमा मेरो पनि साथ छ ।’

लगभग आधा घण्टाको मन्तव्यपछि मन्त्री श्रीपाईलीले आफू मन्त्री रहुन्जेल पटक–पटक आउने वातावरण निर्माण गरिदिन आग्रह पनि गरे । १ बजेर १४ मिनेट जाँदा युवा परिषद्मा प्रवेश गरेका मन्त्री श्रीपाईलीले खाजा खाईसक्दा २ बजेर ५० मिनेट गएको थियो । त्यसपछि उनी सबैसँग विदा माग्दै झण्डावाल गाडीमै बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्