राष्ट्रिय सहमतिको सरकारको बाधक काँग्रेसः नेता नेपाल


२७ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको कुरा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।

रौतहट क्षेत्र नं १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालद्वारा गौर नर्सिङ क्याम्पसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताएका हुन।

पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विगतको सरकारमा पनि काँग्रेस सहभागी हुनुपथ्र्यो र वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपथ्र्यो तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि नेकपा (माओवादी केन्द्र)ले हतारहतार अविश्वासको प्रस्ताव ल्याएर ठूलो गल्ती गरेको बताए ।

जबसम्म देउवाले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैनन् तबसम्म कुनै पनि हालतमा एमाले सरकारमा नजाने उहाँले बताउनुभयो । सङ्क्रमणकालमा सबै सहभागी भई संविधानमा देखिएको त्रुटी हटाउनुपर्नेमा समेत उनले जोड दिए ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले अहिले धमाधम गाउँपालिका÷नगरपालिका र महानगरपालिका बन्ने होडबाजी नै चलेको छ, यो नितान्त गलत भएको र यसबाट जनताले सुविधा पाउनुको सट्टा समस्यामा पर्ने भएको बताउँदै यसलाई तत्काल रोकी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

अहिले स्थानीय निर्वाचन अत्यन्त जरुरी छ भन्नुहुँदै नेता नेपालले यसका लागि स्थानीय, इलाका एवम् सङ्घ वा अधिकार सम्पन्न बनाउन पनि संविधान संशोधन गर्नुपर्ने र यसका लागि सबै मिली अघिबढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्