रासस कर्मचारी युनियनको अध्यक्षमा कालिका खड्का, श्रमजीवीका पक्षमा समाचार सम्प्रेषण गर्न रिमालको सुझाव


१४ असोज । राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी युनियनको घोषणा भएको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) काअध्यक्ष विष्णु रिमालले युनियनको उद्घाटन गर्दै युनियनले समग्र कर्मचारीको हकहितका लागि काम गर्नुपर्ने बताउँदै युनियन धेरै भए भने संस्थानका हकहितका पक्षमा प्रतिस्पर्धात्मक रुपमा काम हुने विचार व्यक्त गरे ।

सञ्चारमाध्यमले श्रमजीवीका पक्षमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नका लागि सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले व्यवस्थापन र कर्मचारी बाघ र बाख्रा नभई चुम्बकका दुई धु्रर्व भएको बताए । ‘व्यवस्थापन र कर्मचारीलाई बाघ र बाख्रा जस्तो व्याख्या गरिन्छ, यो गलत छ,’ उनले भने ‘यी दुईबीचको सम्वन्ध चुम्बकका दुई ध्रुब जस्तो हुनुपर्छ ।’

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पेसागत फाँटका इन्चार्ज डा राजन भट्टराईले युनियनले सामूहिक ढङगबाट काम गर्नुपर्ने बताए ।  पेसागत महासङ्घ नेपालका अध्यक्ष विश्वनाथ प्याकु¥यालले युनियन पेसाकर्मीको हकहितका लागि क्रियाशील हुनुपर्ने बताए । राससका अध्यक्ष कुलचन्द्र वाग्लेले युनियनले समग्र कर्मचारीको उन्नयनका लागि काम गर्नुपर्ने बताए । प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले युनियनले श्रमजीवीका आन्दोलनलाई सहयोग पु¥याउने उल्लेख गदै सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुनु दुःखद् भएको बताए ।

कार्यक्रममा सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालका अध्यक्ष गोविन्द पौडेल, राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका वरिष्ठ उपाध्यक्ष रामलाल श्रेष्ठ, रासस कर्मचारी सङ्घका कावा अध्यक्ष केदार तिम्सिना लगायतले राससका सबै सङ्घसंस्था मिली कर्मचारीका पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।
युनियनमा खड्का
कार्यक्रममा रासस कर्मचारी युनियनको अध्यक्षमा कालिका खड्का चयन भएकी छिन् । नौ सदस्यीय कार्यसमितिका उपाध्यक्षमा कुमार दङ्गाल, सचिवमा तिलक भुसाल र कोषाध्यक्षमा मुना भण्डारी छन् ।  त्यस्तै सदस्यमा हरि बास्तोला, कमला पौडेल, सुमित्रा अधिकारी, भोला पौडेल र चन्द्रलाल श्रेष्ठ तथा सल्लाहकारमा श्याम रिमाल, तीर्थ भट्टराई, भरत केसी र प्रकाश सिलवाल छन् । रासस

प्रतिक्रिया दिनुहोस्