राहत बोकेर अनेरास्ववियु रामेछापको खिम्तीमा, नेविसंघ, क्रान्तिकारी खोइ ?


३ साउन । गत असार ३१ गते भीषण वर्षापछि रामेछापको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिम्ती र छतिवन खोलामा आएको बाढीबाट बिस्थापित परिवारलाई नेरास्ववियुले राहत वितरण गरेको छ ।

सत्तामा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनहरु चुपचाप लागिरहेका बेला बाढीबाट बिस्थापित परिवारलाई अनेरास्ववियुले आज रामेछापको खिम्ती बजार पुगेर राहत वितरण गरेको हो ।

काठमाडौँबाट रामेछाप पुगेको अनेरास्ववियुको टोलीले १० थान त्रिपाल, २० थान पाल, २० वटा ब्ल्याङ्केट, २० बोरा चामल, ११ बोरा चिउरा, १५ काटुन चाउचाउ र २० काटुन बिस्कुट वितरण गरेको अनेरास्ववियु संगठन विभाग प्रमुख सुदर्शन सिवाकोटीले जानकारी दिनुभयो ।

राजधानीबाट राहत लिएर रामेछाप पुगेको अनेरास्ववियुको टोलीलाई जिल्लामा एमाले केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज देवशंकर पौडेल, एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, अनेरास्ववियुका पूर्वनेता पुरुषोतम कडरिया, लिखु गाउपालिका उपाध्यक्ष दिपशिखा दाहाललगायतले राहत वितरणमा सहयोग गर्नुभएको थियो ।
केही दिन अघि मात्र सप्तरीका बाढीपीडितलाई राहत वितरण गरेर आएको अनेरास्ववियुको टोली आज रामेछाप पुगेको हो । ‘अनेरास्ववियु सडकमा आन्दोलन मात्र गर्ने संगठन होइन,’ अनेरास्ववियुकी अध्यक्ष नविना लामाले भन्नुभयो, ‘हरेक नेपालीलाई समस्या पर्दा अनेरास्ववियुलाई दुख्नुपर्छ । धेरै सहयोग गर्न नसकेपनि रामेछापका बाढी पीडितप्रति हामीले मानवीय भावना प्रकट गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्