रेल निर्माण गर्न परराष्ट्रमन्त्रीको प्रस्ताव


काठमाडौं, ८ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केरुङ काठमाडौं पोखरा लुम्बिनी रेलमार्गमा लगानी गर्न चीनसँग प्रस्ताव गरेका छन् । ६ दिने औपचारिक भ्रमणबाट आज स्वदेश फर्केका उनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा रेल निर्माणको प्रस्ताव गरेको जानकारी दिएका हुन् । नेपाल चीन मित्रताको प्रतीकका रूपमा सम्पुर्ण लगानीमा रेलमार्ग बनाइदिन आग्रह गरेको उनले बताए ।

चिनियाँ समकक्षी वाङ यि सङ्ग ५ बैशाखमा भएको दुई पक्षीय वार्तामा नेपालले यो प्रस्ताव राखेको थियो । उक्त रेलमार्ग निर्माणका लागि करिब साढे तीन खर्ब रुपैयाँँ लाग्ने अनुमान छ । सन् १९६० को दशकमा चिनले कोदारी तातोपानी राजमार्ग निर्माण गरेको थियो ।

रेल मार्गमा पनि सम्पूर्ण लगानी चिनको होस् भन्ने नेपालको प्रस्ताव हो । ‘हामी लगानीका अरू मोडेलमा कुरा गर्न खुला छौं भन्ने धारणा पनि राखेका छौँ । उक्त रेल परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । ’
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारी भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्