रोल्पामा तात्यो एमाले


१३ चैत । विभिन्न माओवादी पार्टीहरुको ‘राजधानी’ मानिँदै आएको रोल्पामा नेकपा (एमाले) ले चुनावी अभियान प्रारम्भ गरेको छ । स्थानीय निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन केन्द्रित घरदैलो कार्यक्रमलाई एमालेले तिव्रता दिएको छ । साथै, जनतामाझ निर्वाचनको कार्यक्रम लिएर जान सबै नेता कार्यकर्तालाई एमाले रोल्पाले निर्देशनसमेत दिएको छ ।

सदरमुकाम लिवाङमा बसेको जिल्ला सचिवालयको बैठकले अब गाउँ पस्ने टुंगो लगाएको छ । एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीको अध्यक्षता तथा एमाले ५ नं. प्रदेश संगठन कमिटीका सदस्यहरु कुमार दसौदी, शान्तकुमार वली, राजकुमार कक्षपतिको आतिथ्यमा बैठक बसेको थियो ।

सो बैठकले संबिधान कार्यान्वयनका लागि ४ महिने जनपरिचालन अभियान शानदार रुपमा सफल भएको ठहर गरेको एमाले रोल्पाका उपाध्यक्ष बालाराम बुढाले बताए । स्थानीय तह पुनःसंरचनाअनुसार पार्टीको संरचनालाई पनि सोहीअनुसार लिएको एमाले रोल्पाले बताएको छ । बैठकले गाउँ तथा नगरपालिका संयोजक र सहसंयोजकहरुको कार्य विभाजन समेत गरेको एमाले रोल्पाका सचिव तथा प्रचार विभाग प्रमुख ओमराज घर्तीले जानकारी दिए ।

प्रचार विभाग प्रमुख घर्तीका अनुसार एक नगरपालिका र ९ गाउँपालिका अन्तरगत थवाङ गाउँपालिकाको संयोजकमा हितबहादुर रोका र सहसंयोजकमा सतबहादुर रोकालाई तोकिएको छ । दुईखोली गाउँपालिकामा पृथ्वीप्रसाद रोका संयोजक, मनप्रसाद घर्ती सहसंयोजक, सुकिदह गाउँपालिकाको संयोजकमा नेपबहादुर डाँगी, पूर्णबहादुर विक सहसंयोजक तोकिएका छन् । त्यस्तै माडी गाउँपालिकामा प्रेमबहादुर घर्ती संयोजक र इन्द्रबहादर घर्ती सहसंयोजक, त्रिवेणी गाउँपालिकाको संयोजकमा निमप्रसाद रोका र सहसंयोजकमा ठाकुरप्रसाद वलीलाई तोकिएको छ ।

यस्तै, रुन्टीगढी गाउँपलिकामा आसाराम गुरुङ संयोजक, गोपाल डाँगी सह संयोजक, सुवर्णवती गाउँपालिकामा रितबहादुर आले संयोजक र संशोधिन मिया सहसंयोजक, लुंग्री गाउँपालिकामा चन्द्रबहादुर केसी संयोजक, ताजे पुन सहसंयोजक, सुनछहरी गाउँपालिकामा तिर्खबहादुर बुढाथोकी संयोजक, मोदबहादुर घर्ती सहसंयोजक र रोल्पा नगरपालिकाको संयोजकमा मनसिंह डाँग र सहसंयोजकमा नन्दकुमार आचार्यलाई तोकिएको छ ।

यसैगरी, चैत्र १५ गते नगरपालिका र प्रत्येक गाउँपालिकाको बैठक बस्ने निर्णय गरेको छ । सबै गाउँ तथा नगरपालिकाअन्तर्गतका वडापालिकाहरुमा चैत्र १८ र १९ गते भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्