लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सहयोग गर्न उद्योग मन्त्रीको आग्रह


२८ पुस ।  उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सहयोग गर्न बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।  उद्योग मन्त्रालयमा विहीबार आयोजित बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुको छलफलमा उद्योग मन्त्री जोशीले यस्तो आग्रह गरेका हुन् । उनले उद्योग क्षेत्रमा नयाँ परिवर्तन सम्भव छ भनेर नै मन्त्रालय अघि बढिरहेको बताए । उनले त्यो कार्यमा सहयोग गर्न बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह समेत गरे ।

बैंक तथा वित्तिय संस्थाहरुको लगानीको सुरक्षा गर्न सरकार सहजीकरण गर्न तयार रहेको भन्दै मन्त्री जोशीले नीतिगत व्यवस्थाका बारेमा सुझाव मागेका थिए ।  उनले औद्योगिक वातावरण बनाउन सरकारले कानुनी संरचनाको निर्माणलाई प्राथमिकतामा राखेको पनि जानकारी दिए । ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन मन्त्रालयबाट अन्तिम मस्यौदा तयार भई अहिले विभिन्न मन्त्रालयमा छलफलको क्रममा रहेको छ,’ उनले भने, ‘कम्पनी ऐन संसदीय समितिमा छलफल भै २ हप्ता भित्र नै संसदमा प्रस्तुत हुने प्रकृयामा रहेको  छ ।’

नेपाल राष्ट्र बैंकका डेपु्टी गभर्नर शिवराज श्रेष्ठले विषेश गरेर साना तथा मझौला उद्योगहरुमा कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको भए पनि बैंक तथा वित्तिय संस्थाहरुले अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन नगरेको गुनसो गरे ।  उनले त्यस्ता क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गरेको अवस्थामा केन्द्रीय बैकले त्यसको लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई ५ प्रतिशत व्याजदरमा पूर्नकर्जा उपलब्ध गराउने व्यवस्था गरेको  पनि उनले जानकारी दिए ।  ‘तर हालसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुले त्यस्तो सुविधा माग नगरेकाले बैंक तथा वित्तिय संस्थाहरुको त्यस क्षेत्रमा ध्यान नपुगेको देखिन्छ,’ उनले भने ।

छलफलमा बैंकर एशासियसन, विकास बैंक संघ र फाईनान्स कम्पनीका प्रतिनिधिहरुले वित्तिय साक्षरताको अभावमा साना व्यवसायिहरु बैंक तथा वित्तिय संस्थामा कर्जाकोे लागि आउने नगरेको भन्दै सरकारले लघु, घरेलु तथा साना उद्यमीहरुलाई उद्यमशीलता सम्वन्धि तालिम प्रदान गर्ने क्रममै बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई समेत समावेश गराउन सके त्यसले परिणाम दिने बताए ।

प्रतिक्रिया दिनुहोस्