लडाकु शिविरको भ्रष्टाचार छानविन प्रसंगः युवा संघले उजुरी दिएको चार वर्षपछि माओवादी खोज्दै अख्तियार


५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी लडाकु शिविरमा भएको अनियमितता छानविन प्रक्रिया अघि बढाउने निर्णय गरेपछि त्यसले सबैतिर तरंग ल्याएको छ ।

अख्तियारले त्यस विषयमा सम्बन्धित पदाधिकारीहरुसँग सोधपुछ गर्ने भनेपछि नेकपा माओवादी–केन्द्रमा हंगामा मच्चिएको छ ।

माओवादी–केन्द्रकै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेकै बेला अख्तियारले यस्तो छानविन प्रक्रिया अघि बढाउने निर्णयको माओवादी नेताहरुले आलोचना गरेका छन् । सर्वोच्च अदालतले लोकमानको सक्कल फाइल झिकाउने कडा आदेश दिएकै दिन माओवादी लडाकु शिविरमा भएको ठूलो रकम दुरुपयोगका खोजी गर्ने भन्दै प्रचण्ड लगायत माओवादी नेताहरुलाई एक महिनाभित्र अख्तियारमा उपस्थित हुन आयोगले निर्देशन दिनुको पछाडि के कारण रहेको होला ? यो बहसको विषय बनेको छ ।

त्यसो त माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी एमालेको उक्साहटमा अख्तियारले उक्त प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसबारे कार्कीसँग कुरा भइसकेको बैठकमा समेत उल्लेख गरेका छन् । त्यति मात्र होइन प्रचण्डले लाजिम्पाटस्थित निजी निवासमा मंगलबार बसेको बैठकमा अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले माओवादीको तर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेको र केही नभनी आफू भारत भ्रमणमा निस्किएपछि अदालतको कुरा मिलाइदिएन भन्ने असन्तुष्टिले काम गरेको समेत दाबी गरेका थिए ।

उनले बैठकमा सबै कुरा अख्तियार प्रमुख कार्कीलाई प्रष्ट बताइदिएको भन्दै प्रचण्डले अख्तियार र पार्टीबीच कुरा मिलिसक्यो भनेर बुझ्न आग्रह समेत गरेका थिए ।

चार वर्षअघि नै उठेको थियो कुरा

तर, चार वर्षअघि नै लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन गर्न युवा संघ नेपालले केन्द्रीय कार्यालयको तर्फबाट अख्तियारमा उजुरी दिएको थियो । चार वर्षपछि फेरि त्यही बहस तातो बनेर आउनुलाई संयोगका रुपमा हेरिएको छ ।

युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेतको नेतृत्वमा २०६९ असोजमा आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता भएको थियो । चार वर्षपछि भए पनि त्यो विषयले चर्चा पाएको छ,’ युवा संघका सचिव अशोक चन्दले भने, ‘अब यो विषयमा अख्तियारले साँच्चिकै अनुसन्धान गर्छ कि गर्दैन ?’

प्रधानमन्त्री प्रचण्डलाई मानसिक दबाब दिएर भारतीय चाहना अनुसारको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न लगाउन र सर्वोच्चको जवाफी हमला मात्र गर्न खोजिएको हो कि ? भन्ने प्रश्नसमेत चन्दले गरे ।

उनले यदि त्यस्तो हो भने युवा संघ नेपाल टुलुटुलु हेरेर नबस्ने पनि चेतावनी दिए । ‘अन्याय, अत्याचार, बेथितिका विरुद्ध र न्याय, सत्य, कानुनका पक्षमा युवा संघ उभिन्छ,’ उनले भने । युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले पनि युवा संघ चुप लागेर नबस्ने दाबी गरे । 14434937_788858141256759_5072571656148959068_o

प्रतिक्रिया दिनुहोस्