लथालिङ्ग लुम्बिनीमा अजितमानलाई ‘स्कर्टिङ’


६ वैशाख । करिब चार महिनाअघि आन्दोलनमा उत्रिएका कर्मचारीहरुले लखेटेपछि लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले लुम्बिनीमा टेक्नै सकेका थिएनन् । तर, चार दिनअघि भने पहिला कर्मचारीबाट खेदिएका सदस्य सचिव तामाङ विशेष सुरक्षा व्यवस्थासहित लुम्बिनी पुगेका छन् ।

कोषमा कार्यरत ज्यालादारी कर्मचारीहरुले सदस्य सचिव तामाङको राजीनामा माग्दै आमरण अनसनमा बसेका थिए । कर्मचारीहरुले आफूविरुद्ध आन्दोलन गर्न थालेको सुइँको पाएपछि लुम्बिनी छाडेका तामाङ लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । काठमाडौंमै रहेका बेला उनले कोषकै नाममा केही समय विदेशतिर घुमेर पनि बिताए ।

बुद्ध जयन्ती नजिकिँदै गएको हुँदा र कोषका अरु पदाधिकारीहरु पनि लामो समयदेखि अनुपस्थित रहेपछि सदस्य–सचिव तामाङ सुरक्षा फौज लिएर केही दिनअघि कोषको कार्यालय छिरेका हुन् । उनलाई सशस्त्र प्रहरी बलले स्कर्टिङ गरेर कार्यालयमा पु¥याएको थियो । उनी करिब दुई घन्टासम्म कोषको कार्यालयमा रहेको बताइन्छ । कार्यालयमा बसुन्जेलसम्म तामाङलाई सशस्त्रले सुरक्षा दिएको थियो । त्यसपछि भने उनी नर्सरीमा अवस्थित क्वार्टरमा गएर आराम गरेका थिए । सो क्वार्टरमा सदस्य सचिव, उपाध्यक्षलगायतलाई बस्ने व्यवस्था गरिएको छ ।

सदस्य–सचिव तामाङ सुरक्षासहित लुम्बिनी पुगे पनि अरु पदाधिकारीहरुको भने कुनै अत्तोपत्तो देखिएको छैन । कोषका उपाध्यक्ष भिक्षु निग्रोध पनि लामो समयदेखि लुम्बिनी गएका छैनन् । प्रायः काठमाडौंमै बस्न रुचाउने निग्रोध अहिले पनि काठमाडौंमै बसिरहेका छन् । योजना अधिकृत इमानसिंह मोक्तान पनि गृहजिल्ला चितवनमै बसिरहेका छन् ।

यसरी नै, कोषका प्रशासकीय अधिकृत चूडामणि भट्टराई भने मणिग्राममा रहेको आफ्नो स्टेसनरी पसलमै भेटिने गरेका छन् अचेल । उनी १५ दिनको लामो बिदा लिएर स्टेसनरी हेरेर बसेका छन् । अहिले विद्यालयको पाठ्यपुस्तक बेच्ने समय भएको हुँदा उनी नियम विपरीत लामो समय बिदा लिएर किताब बेच्दै बसेको बताइन्छ । कोषको नियमावलीअनुसार कुनै पनि कर्मचारी १५ दिनसम्म बिदामा बस्न पाइँदैन ।

प्रशासकीय अधिकृत भट्टराई कार्यालयमा अनुपस्थित भएपछि केही दिनअघि उनको कुर्सीमा ज्यालादारीमा काम गर्ने एक जना कर्मचारी बसेपछि अहिले लुम्बिनीभरि यो कुराले चर्चा पाएको छ । ती कर्मचारीलाई भट्टराईको कुुर्सीमा बसेको देखेपछि अरु कर्मचारीहरुले केरकार गरेका थिए । तर, ती कर्मचारीले हाँसेर टारेको बताइन्छ ।

यस्तैगरी, आगामी वैशाख २७ गते बुद्ध जयन्तीलाई कसरी मनाउने भन्ने विषयमा अहिलेसम्म कोषले कुनै निर्णय गरिसकेको छैन । गएको वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा बुद्ध जयन्ती मनाइएको थियो । तर, यसपालि भने बुद्ध जयन्ती मनाउने विषयमा कुनै छलफल नभएको बताइन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलनाथ गिरी नियुक्त भएपछि आगामी वैशाख ८ गते कोषको बैठक पहिलो पटक बस्न लागेको हुँदा उक्त बैठकले नै बुद्ध जयन्तीबारे केही टुंगो लगाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्