ललितपुरमा व्यञ्जनकार र भरतपुरमा ज्ञवालीको सम्भावना


१७ वैशाख । चार महानगरपालिकामध्ये नेकपा (एमाले) ३ नम्बर प्रदेश कमिटीले दुई महानगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार टुंगो लगाएको छ । काठमाडौं र पोखरा–लेखनाथको मेयर र उपमेयर अझै टुंगो लाग्न बाँकी रहे पनि ललितपुर र भरतपुरको भने टुंगो लगाएको हो ।

काठमाडौं महानगरपालिकासँगै जोडिएको ललितपुरमा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेद्वारमा सिफारिस गरेको छ । उपमेयरको भने टुंगो लाग्न बाँकी नै छ । यसैगरी, भरतपुर महानगरपालिकाको मेयरमा पूर्वउपमेयर देवी ज्ञवाली र उपमेयरमा विद्या आचार्यको नाम एमाले ३ नम्बर प्रदेश कमिटीले सिफारिस गरेको छ । स्थायी कमिटीले भने निर्णय गर्न बाँकी नै छ ।

एमालेले ललितपुरको मेयरमा अघि सारेको व्यञ्जनकार पाटन क्षेत्रका रैथाने बासिन्दा हुन् । पाटनको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासमा समर्पित व्यञ्जनकार पाटन दरबार स्क्वायर विकास समितिका पूर्वसदस्य पनि हुन् । उनी पशुपति क्षेत्र विकास कोषका सदस्य पनि हुन् ।

बैंकको आकर्षक जागिर छाडेर राजनीतिमा आएका व्यञ्जनकार एमाले ललितपुरको उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

भरतपुर महानगरपालिकाको मेयरमा सिफारिस ज्ञवाली भने २०५४ सालको निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए । दुई कार्यकाल एमाले भरतपुरको सचिव रहेका ज्ञवाली एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । अहिले उनी एमालेको केन्द्रीय सल्लाहकार कमिटीमा आवद्ध छन् ।

ज्ञवालीले आफूलाई एमालेले टिकट दिए भरतपुर महानगरपालिकाको अनुहार नै बदल्ने बताए । एक कार्यकाल भरतपुरको उपमेयर भएर जनताको बीचमा आफू भिजिसकेको हुँदा चुनाव जित्नेमा ढुक्क रहेको पनि उनले बताए । ज्ञवालीले भने, ‘मैले भरतपुरको विकासको खाका कोरिसकेको छु । उम्मेद्वार भए त्यही खाका जनताका बीचमा लैजाने छु ।’

प्रतिक्रिया दिनुहोस्