लागूऔषधमुक्त जिल्लाका लागि यस्तो छ एसपी रजौरेको अभियान


सुर्खेत, १५ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई अशोज महिनावाट मासिक रुपमा पुरस्कृत गर्ने भएको छ । जिल्लालाई लागूऔषधमुक्त बनाउनका लागि मासिक रुपमा एक जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले बताए ।

प्रहरीको मनोवल उच्च राख्न र सभ्य समाज निर्माण गर्नका लागि पनि यस्तो अभियान संचालन गर्न लागिएको हो ।’ लागूऔषध, कारोवारी र सेवनकर्ता पक्राउ गर्दा मानव अधिकारको उल्लंघन गर्न नहुने, कुटपिट गर्न नहुनेलगायतका शर्तहरु राखिएको छ ।
एसपी रजौरे यहाँ प्रमुख भएर आएपछि जिल्लालाई लागुऔषधमुक्त बनाउन विशेष अभियानका साथ प्रहरीले सक्रियता बढाएको छ । गत मंगलबार मात्रै १५.६ ग्राम लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सुब्बाकुना चेकपोष्टबाट उक्त परिणामको लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । sugarएसपी रजौरेका अनुसार सुब्बाकुनामा चेकजाँचका क्रममा तीन घण्टाको अवधीमा पाँच जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार वीरेन्द्रनगर–३ तातापानीका २९ वर्षीय रमेशकुमार मल्लको साथबाट दुई ग्राम ७८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो । मल्लले भे४प ३४२१ नम्वरको मोटरसाइकलको लुकिङ ग्लासमा लुकाएर ल्याएका थिए । यस्तै वीरेन्द्रनगर–३ का २४ वर्षीय समिर थापा र २३ वर्षीय यज्ञ सुनारलाई तीन ग्राम १३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले पनि भे८प ३७०६ नम्वरको मोटरसाइकलको लुकिङ ग्लासमा ब्राउनसुगर लुकाएर ल्याएका थिए । यस्तै वीरेन्द्रनगर–४ का २३ वर्षीय सन्तोष बस्याल, २८ वर्षीय डम्वरबहादुर भण्डारीलाई नौ ग्राम ६९० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले नेपालगञ्जबाट स्ल्याक्स (कट्टु) मा लागूऔषध लुकाएर ल्याएको प्रहरीको भनाई छ । एकै दिन ठूलो परिणाममा लागूऔषध ब्राउनसुगर बरामद गरिएको यो पहिलो घटना हो ।
प्रहरीका अनुसार पक्राउ परेका सबै लागूऔषध कारोवारी हुन् । ‘नेपालगञ्जबाट लागूऔषध ल्याएर सुर्खेतमा विक्री–वितरण गर्ने कार्यमा उनीहरुको संलग्नता रहेको पाइएको छ’ एसपी रजौरेले भने, ‘थप कारोवारीहरुको खोजी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्