लागू औषध कारोबारः सक्रियता नेपालीकै


NCBLogoकाठमाडौं । महँगो लागू औषध एम्फेटामाइनका अन्तर्राष्ट्रिय कारोबारी नेपाली भएको रहस्य खुलेपछि यसले ठूलै तरंग ल्याएको छ । अन्तर्राष्ट्रिय बजारमा ‘हाई प्रोफाइल’का व्यक्तिले प्रयोग गर्ने एम्फेटामाइनको ओसारपसारका मुख्य अभियुक्त धर्म पाख्रिन रहेको बताइन्छ । हाल उनी थाइल्यान्डमा बस्दै आएका छन् र उतैबाट गिरोहमार्फत एम्फेटामाइनलाई अन्तर्राष्ट्रिय बजारमा पैठारी गर्ने गरेको नेपाल प्रहरी लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्युरोको अप्रेसन आइस अभियानले लामो समयको खोजतलासपछि यसको रहस्य सार्वजनिक गरेको हो । बर्माबाट एम्फेटामाइन ल्याई अस्ट्रेलिया, फिलिपिन्स, म्यानमारलगायत पूर्वी एसियाली मुलुकमा पाख्रिनले पठाउने गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ । पाख्रिनका मुख्य सहयोगीका रूपमा काम गर्दै आएका धादिङका नेत्र गुरुङ र चित्र तामाङलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । लागू औषध नियन्त्रण ब्युरोको टोलीले गत चैत ३० गते थाइल्यान्डबाट काठमाडौं आएका नेत्र र चित्रलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरको मुख्य गेटबाट पक्राउ गरेको हो । दुवै अभियुक्तहरू धर्म पाख्रिनको विशेष सहयोगी भएको र उनीहरूले नै आर्थिक कारोबार गर्ने गरेको अनुसन्धानमा उल्लेख छ ।

नेत्रले विगतमा पनि थाइल्यान्डबाट फिलिपिन्स, थाइल्यान्डबाट म्यानमार हुँदै फिलिपिन्सको बाटो प्रयोग गरी इन्डोनेसिया, अस्ट्रेलियालगायत मुलुकमा एम्फेटामाइन तस्करी गर्ने गरेको ब्युरोका डिआइजी जयबहादुर चन्दले जानकारी दिए । अभियुक्तको साथबाट ३ सय २ ग्राम एम्फेटामाइन बरामद गरिएको थियो । थाइल्यान्डबाट काठमाडौं ल्याइएको सो लागू औषध नेपालको भूमि प्रयोग गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी गरेको प्रहरीले बताएको छ । अझ अचम्मको कुरा यसका मुख्य कारोबारी नेपाली नै भेटिएको छ । यसको ओसारप्रसार नेपालबाट गरेको यो पहिलो घटना भएको प्रहरीको दाबी छ ।

उक्त लागू औषधलाई बच्चाको खेलौना, सुटकेसको डन्डी र क्रिमको डब्बाभित्र लुकाईछिपाई राखेको अवस्थामा बरामद गरिएको उनले बताए । पाख्रिनकै भाइ पूर्ण पाख्रिन पनि लागू औषध ओसारपसारमा संलग्न रहेको बताइन्छ । पूर्णले धादिङ, मकवानपुर र बारालगायतका जिल्लाबाट थाइल्यान्डमा मान्छे पठाई अवैध रूपमा एम्फेटामाइन ओसारपसारमा संलग्न गराउने गरेको उनले बताए ।

पूर्ण पाख्रिनकी छोरीले यूएनको नक्कली सवारी लाइसेन्स बनाई एम्फेटामाइन ओसारपसारमा संलग्न रहेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा छ । बढी कमाइ हुने आर्थिक प्रलोभन देखाई थाइल्यान्ड पठाउने गिरोह नै सक्रिय रहेको ब्युरोले जनाएको छ । करिब चार महिनाअघि ५४ केजी एम्फेटामाइन सहित अस्ट्रेलियामा पक्राउ परेका भूपेन्द्र तामाङ र अस्ट्रेलियन नागरिक रेमन्ड जोन मार्डसन चीनबाट एम्फेटामाइन अस्ट्रेलिया पठाउने मुख्य अभियुक्त धर्म पाख्रिन नै भएको डिजाइजी चन्दले बताए । प्रतिग्राम २० देखि ३० हजार रुपैयाँ पर्ने उक्त लागू औषध उच्च पेसाका व्यक्तिले मात्र प्रयोग गर्ने बताइन्छ । नेपालमा पनि यसका केही दुव्र्यसनी भएकाले पछिल्लो समय कोक, फ्यान्टामा मिसाएर खाने तथा सुँघे पनि यसको गन्ध लिन सकिने अध्ययनले देखाएको छ ।

उक्त लागू औषधको दुव्र्यसनीलाई भोक र निद्रा नलाग्ने भन्दै करिब ३६ घन्टाभन्दा बढी नसुती र नखाई काम गर्न सक्ने उनले बताए । यसको दुव्र्यसनीको दाँत झर्ने, हातका औंला झर्ने, शरीरको छाला खस्नेलगायत शारीरिक समस्या देखिने बताइन्छ । एम्फेटामाइन कारोबारको जालो निकै ठूलो भएको भन्दै अन्य देशका लागू औषध कानुन कार्यान्वयन निकायसँग समन्वय गरेर थप प्रक्रिया अघि बढाइने डिआइजी चन्द बताउँछन् ।

लागू औषधको सहज उपलब्धताका कारण सीमावर्ती भारतीय सहर रक्सौल र छेउछाउको बजार लागू औषध कारोबारी, ग्राहक र प्रयोगकर्ताका लागि सुरक्षित स्थल बन्न पुगेको छ । लागू औषध खान वा खरिद गर्न काठमाडौं उपत्यका, पोखरा, चितवन र मकवानपुरदेखि युवाहरू दैनिक रूपमा वीरगन्ज हुँदै सीमापारि रक्सौल जाने गरेका छन् ।

भारतको बिहारअन्तर्गत पर्ने सीमावर्ती बजार रक्सौल, बैरगनिया, भेलाही, सिक्टा, इनर्वामा खैरो हेरोइन र सुईका माध्यमबाट प्रयोग हुने नियन्त्रित औषधि चिकित्सकको सिफारिसविना नै निर्बाध बिक्री हुने गरेको छ । खुला सीमाबाट ठूलो परिमाणमा पर्सा, बारा र रौतहटको नाका हुँदै नेपाल भित्र्याउने क्रममा प्रहरीले पटकपटक लागू औषध बरामद गर्दै आएको छ ।

नियन्त्रित औषध डाइजेपाम, लुप्रिजेसिक, नरफिन, फेनारगन, कोरेक्स, नाइट्रोभेट जतिसुकै परिमाणमा खरिद गर्न पाइने गरेको बताइन्छ । राजधानीमा लागू औषधको ठूलो माग र रक्सौलमा यसको सहज उपलब्धताका कारण वीरगन्ज सहरसमेत लागू औषधको ट्रान्जिटका रूपमा प्रयोग हुँदै आएको छ । भारतीय औषधीपसलमा चिकित्सकको सिफारिसविना जतिसुकै परिमाणमा सहजै लागू औषध उपलब्ध हुने भएकाले प्रयोगकर्ता र कारोबारीका लागि आकर्षक गन्तव्य बनेको प्रहरी बताउँछन् । सीमापारिबाट किनमेल गरेर इनर्वा नाका हुँदै सीमाबाट भित्रिने अन्य सहरका अधिकांश युवाको साथबाट नियन्त्रित औषधि फेला पर्ने गरेको सीमामा तैनाथ सुरक्षाकर्मी बताउँछन् । भारतीय पक्षले सीमापारिबाट हुने लागू औषध कारोबार नियन्त्रणमा अपेक्षित चासो नदेखाउँदा सीमापारीबाट लागू औषध बोकेर आउने भरियाले नै जिल्ला प्रहरी कार्यालयको हिरासत भरिने गरेको छ ।

प्रयोगकर्तालाई दुईचार दिन हिरासतमा राखेर अभिभावकको जिम्मा लगाउने तथा भरियाविरुद्ध अनुसन्धानपछि लागू औषध मुद्दा दायर गरेर अदालतसमक्ष पेस गरे पनि मुख्य दोषीले भने उन्मुक्ति पाउँदै आएका छन् । लागू औषध बोकेर फर्किंदा पक्राउ पर्ने डरले ३० प्रतिशतभन्दा बढी दुव्र्यसनी सीमापारि लागू औषध किनेर दसगजा क्षेत्रमै उपभोगपछि मात्र वीरगन्ज फर्किने गरेका छन् । लागू औषध सेवनकै लागि सीमापारि जाने युवालाई इनर्वा सीमामा तैनाथ प्रहरीले रोक लगाएर वीरगन्जतिरै फिर्ता पठाइदिनेसमेत गरेका छन् । नेपाल र भारत दुवैतर्फको सुरक्षा निकायले ठोस प्रयास नगरे यसले अझै भयावह अवस्था निम्त्याउने बताइन्छ । वीरगन्ज कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासतमा लागू औषध कारोबारीको संख्या थपिँदै जानुको पछाडि सीमापारिी रक्सौल र आसपासको भारतीय बजारमा लागू औषध तथा नियन्त्रित औषधिको सहज उपलब्धता प्रमुख कारक भएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेकामध्ये करिब ४५ प्रतिशत लागू औषध मुद्दाका कैदी र अभियुक्त छन् । कारागार प्रशासनका अनुसार कुल १ हजार ३ सय १३ जना कैदीबन्दीमध्ये ५ सय ८९ जना लागू औषधसम्बन्धी मुद्दामै जेल परेका कैदी र थुनुवा हुन् । कैदमा रहेकामध्ये ७० प्रतिशत २० देखि ४० वर्ष उमेर समूहका युवा छन् । पहाडी जिल्लाका युवा व्यक्तिगत प्रयोगका लागि र तराईका युवा राजधानीसम्म पुर्‍याउन भरिया हुने गरेका छन् । लागू औषध किन्न आवश्यक पर्ने पैसा सकिएपछि सस्तोमा किन्न पाइने आशामा पहाडी जिल्लाका युवाहरू पक्राउ परेपछि जेल पर्ने गरेका छन् । सीमापारिबाटै लागू औषध कारोबारको सञ्जाल सञ्चालन गर्नेले पर्सा र बाराका युवालाई आकर्षक पारिश्रमिकको लोभ दिएर भरियाका रूपमा प्रयोग गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई महिलासहित ८२ जनालाई भारतबाट लागू औषध तथा नियन्त्रित औषध बोकेर फर्किंदै गर्दा नेपाल भारत सीमाबाट पक्राउ गरिएको छ । यीमध्ये ८४ प्रतिशत अर्थात् ६९ जना १६ देखि २५ वर्ष उमेर समूहका युवा छन् । गत आर्थिक वर्षमा १ सय ८० जनालाई लागू औषधसहित पक्राउ गरिएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये १ सय ७० जना १६ देखि २५ वर्ष उमेर समूहका युवा थिए ।

नेपाल–भारत जिल्ला स्तरीय समन्वय र सीमा सुरक्षा बैठकमा नेपाली पक्षले वर्षौं अघिदेखि भारतबाट हुने लागू औषध तस्करी नियन्त्रणका लागि बारम्बार दबाब दिँदै आएकोमा यसपटक मात्र भारतीय पक्षले नियन्त्रणमा थोरबहुत चासो देखाएको छ ।

जेलबाटै लागू औषध कारोबार

केही समयअघि राजधानीका तीन ठूला कारागारमा रहेका कैदीलाई प्रयोग गरी औषधिजन्य लागू औषधको कारोबार गर्दै आएका प्रमुख व्यापारी पक्राउ परेका थिए । योसँगै देशका विभिन्न जेलबाट लागू औषधको कारोबार हुने गरेको रहस्य खुलेको छ । लागू औषध मुद्दामा जेल परेका कैदीले सञ्जाल नै बनाएर भित्रबाटै भारतदेखि विभिन्न सहरमा लागू औषधको कारोबार र ओसारपसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय लागू औषध नियन्त्रण ब्युरोको विशेष टोलीले लामो समयदेखि लागू औषधको कारोबार गर्दै आएका पर्सा निवासी वीरेन्द्रकुमार क्षत्रीलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो । क्षत्रीले विगत १२ वर्षदेखि रूपेश, शेखर, राजु, राजा, निर्मलजस्ता नाम फेर्दै लागू औषधको व्यापार सञ्चालन गर्दै आएका थिए । प्रहरीले उनीसहित उनका दाजु धीरेन्द्रकुमार क्षेत्री र दाङ निवासी नारायण श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।

वीरेन्द्र २०५८ सालदेखि नै लागू औषध कारोबारमा संलग्न थिए । ३२ साउन २०६२ मा मकवानपुरबाट लागू औषधसहित पक्राउ परी उनले दुई वर्ष जेल सजाय भुक्तान गरेका थिए । सोही अभियोगमा उनले १ लाख रुपैयाँ जरिवाना पनि तिरेका थिए । जेलबाट छुटेपछि वीरगन्ज र विराटनगरलाई केन्द्रबिन्दु बनाई लागू औषधको कारोबार गर्दै आएको प्रहरीले बतायो ।

क्षेत्रीले केन्द्रीय कारागार, नक्खु कारागार र डिल्लीबजार सदरखोरमा बस्दा लागू औषधमै सजाय भोगिरहेकाको अभियुक्तसँग सम्पर्क भएको र बाहिर आएपछि सोही आधारमा ग्राहकहरूसँग सम्पर्क गरी र डाइजोपामजस्ता औषधिजन्य लागू औषधको कारोबार अघि बढाएका थिए । विगत सातरआठ वर्षमा उनले करोडौं रुपैयाँ बराबरको लागूऔषध कारोबार गरेको तथ्य खुलेको छ । अभियुक्त क्षेत्रीले आफूसहित श्रीमती र नातेदारको नाममा विभिन्न बैंकमा खाता खोलेर बैंकमार्फत नै पैसाको कारोबार गर्ने गरेका थिए ।

सञ्जाल भत्काउने प्रयास

एक महिनाअघि प्लास्टिकको जर्किनभित्र तेल र पानीमा डुबाएर विभिन्न लागू औषध ल्याउँदै गरेका विराटनगर–७ का महेशकुमार महतो र सरोज साहलाई प्रहरीले पक्राउ गरेको थियो ।

दुई साताअघि ४ सय १७ थान लागू औषधसहित धरान–१५ पाथीभरा लाइनस्थित कोठाबाटै अमर राईलाई प्रहरीले पक्राउ गर्‍यो । उनी लागू औषधको डिलर भएको खुलेको थियो । एक साताअघि मात्र प्रहरीले हर्कबहादुर लिम्बूलाई ब्राउनसुगरसहित पक्राउ गरेर कारबाही चलाएको छ । उनीहरूका साथै लागू औषधको कारोबार गर्ने धरान–११ का नवीन गुरुङ, धरान–१८ का रोशन राई, धरान–१६ का युगल गुरुङ र हेमबहादुर गुरुङ, धरान–९ का नन्दन शर्मालगायतलाई इलाका प्रहरी कार्यालय धरानले ठूलो मात्रामा लागू औषधसहित पक्राउ गरेर कारबाही चलाइसकेको छ । लागू औषधका कारण बदनाम रहँदै आएको धरानमा प्रहरीले चार महिनायता चलाएको लागू औषधविरुद्धको अभियानले धमाधम लागू औषध कारोबारी ९डिलर० पक्राउ परिरहेका छन् । प्रहरी सक्रियता बढेसँगै कारोबारीको सञ्जाल तोडिँदै गएको छ ।

धरानमा मुख्यगरी भारतको जोगबनी र भन्टाबारीबाट लागू औषध ल्याएर बेच्नेहरू बढी छन् भने धनकुटाको छिन्ताङबाट गाँजाको ठूलो कारोबार हुने गरेको छ । प्रहरीले पटकपटक पहाडबाट आउने गाँजा, भारतबाट आउने कोरेक्स, ब्राउनसुगरजस्ता लागू औषध पक्राउ गर्ने गरेको छ । धरानमा लागू औषध प्रयोगकर्ता पक्राउ परे पनि प्रहरीले अभिभावकको जिम्मा लगाउने र पुनस्स्थापना केन्द्र पठाउने गरेको छ भने कारोबारीलाई कानुनी कारबाही गर्ने गरेको छ । सुरुमा साथीको संगतले दुव्र्यसनमा लागेका प्रयोगकर्ताहरू बिस्तारै आफैं डिलर बन्ने गरेका छन् ।

पूर्वको सबैभन्दा धेरै लागू औषधको कारोबार र प्रयोग हुने ठाउँ भनेर धरान परिचित छ । धरानले ‘लागू औषध प्रयोगकर्ताको सहर’ भनेर बदनाम कमाएपछि त्यहाँको खराब छवि मेट्न नगरपालिकाका साथै विभिन्न एनजिओहरूले पनि कार्यक्रम सञ्चालन गरेका छन्, तर उनीहरूका कार्यक्रमको प्रभाव खासै परिणाममुखी नदेखिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्