लामाबगर पुगेर ऊर्जामन्त्री शर्माले आयोजना प्रमुखलाई थर्काएपछि…


२ पुस । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यतालिका तीन दिनभित्र पेश गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।

माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण भ्रमण गर्ने क्रममा मन्त्री शर्माले आयोजना प्रमुख, कर्मचारी तथा परामर्शदातासँगको छलफलका क्रममा आयोजनाको ‘रिसेड्यूलिङ’ गर्न निर्देशन दिएका हुन् ।

सन् २०१८ को जुलाई १८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष राखिएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यतालिकामा अलमल देखिएपछि मन्त्री शर्माले यो स्थितिको तुरुन्त अन्त्य गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका हुन् । आगामी २०७५ साल असारभित्र विद्युत उत्पादन गरिसक्ने भनी बहुप्रचारित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यतालिकाको विषयमा परामर्शदाता कम्पनी, हाइड्रोमेकानिकल सेक्सन र सिभिल इन्जिनीयरिङ सेक्सनबीच फरक–फरक धारणा व्यक्त भएको छ । छलफलको क्रममा परामर्शदाता कम्पनीका प्रतिनिधिले आयोजनाको निर्माण सक्न अझै ३ वर्ष लाग्ने बताएका थिए भने सिभिल ओर्कका प्रतिनिधिले सन् २०१९ को मार्चमा मात्र आयोजनाको काम सकिने बताएका थिए ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख विमल गुरुङ र प्रोजेक्ट म्यानेजर विज्ञान श्रेष्ठले आयोजनाको काम निर्धारित समय अर्थात सन २०१८ को जुलाईमा सम्पन्न हुने बताइरहँदा निर्माण कार्यको प्राविधिक नेतृत्व गरिरहेका अधिकारीहरुले त्यो संभावना नरहेको बताएपछि मन्त्री शर्माले किन त्यस्तो भनी थर्काकाएका ।  ‘यो  के भएको हो, तपाईहरु राम्रोसँग छलफल गर्नुस र मलाई तीन दिनभित्र रिपोर्ट दिनुस्,’ उनले भने, ‘आयोजनाको लक्ष गलत भयो कि, तपाईहरुको रिपोर्ट गलत भयो, यो अन्यौल तत्काल अन्त्य गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्