लुम्बिनीको चिया बेच्ने सपना यसरी तुहियो


काठमाडौं । लुम्बिनी विकास कोषका सदस्य–सचिव अजीतमान तामाङको पवित्र लुम्बिनी परिसरभित्र चिया खेती गरेर आम्दानी गर्ने पवित्र सोचलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अंकुश लगाएको छ । सदस्य–सचिव तामाङको पहलमा केही महिनाअघि लुम्बिनीमा चियाको बोट रोपिएपछि अहिले किन रोपियो ? भनेर अख्तियारले स्पष्टिकरण मागेको छ ।

लुम्बिनी क्षेत्रभित्र रोपिएका चियालाई हजार रुपियाँमा बेच्न सकिने भन्दै तामाङको पहल र निर्देशनमा करिब २ हजार बोट चिया रोप्न लगाइएको थियो । लुम्बिनीमा चिया खेती हुने वा नहुने भन्नेबारे माटोको कुनै परीक्षण नै नगरी इलामबाट बिरुवा ल्याएर रोपिएको थियो । ती बिरुवाहरु गएको साउन÷भदौतिर रोपिएका हुन् । लुम्बिनी गुरुयोजनाको दक्षिणमा अवस्थित पत्रित्र उद्यान क्षेत्रको गोलाइ नहरमा रहेको करिब ५ धुरजति जग्गामा चिया खेती गरिएको छ ।

तर, लुम्बिनी गुरुयोजनाभित्र चिया खेती गर्ने सदस्य–सचिव तामाङको पहलविरुद्ध अख्तियारमा उजुरी परेपछि अहिले स्पष्टिकरण सोधिएको हो । कोषका उपाध्यक्ष भिक्षु निग्रोध काठमाडौंमै रहेको र कोषाध्यक्षसमेत नभएको बेला तामाङले आफूखुसी इलामबाट बिरुवा झिकाएर लुम्बिनी क्षेत्रको मौलिकता नै बिगार्ने गरी चिया खेती गर्न चाहेका थिए । तर, अख्तियारले स्पष्टिकरण सोधे पनि अहिलेसम्म उनले कुनै जवाफ दिएका छैनन् ।

यसैगरी, लुम्बिनी गुरुयोजनाअन्तर्गत उत्तरतिरको एसियन हाइवे निर्माणमा सुस्तता देखिएको छ । करिब २ वर्षअघि नै काम थालिए पनि सो हाइवेको कालोपत्रे गर्ने काम अझैसम्म सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनीले सो सडक कालोपत्रे गर्नेतिर ढिलासुस्ती गरिरहँदा पनि कोषले कुनै चासो देखाइरहेको छैन । काम थालनी भएको २ वर्ष बितिसक्दा पनि अहिलेसम्म माटो सम्याउनेभन्दा अरु काम हुनसकेको छैन ।
अर्कोतिर, लुम्बिनी क्षेत्रका कामहरु अस्तव्यस्त त छ नै, बढ्दो फोहोरका कारण पनि विदेशी र आन्तरिक पर्यटकहरुले समस्या भोग्नुपरिरहेको छ । कहिलेकाही कोषले पहल गरेर प्रहरीबाट सफाई गर्न लगाए पनि फेरि फोहोर थुप्रिँदा समस्या जस्ताको तस्तै रहने गरेको छ । लुम्बिनी क्षेत्रभित्रका फोहोर व्यवस्थापनका लागि स्थायी पहल नभइरहेको हुँदा समस्या यथावतै रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्