लुम्बिनीको जैविक सम्पदा मासेर ठूला भवन बनाउने तयारी


१० असोज । वृहत्तर लुम्बिनीको उत्तरी क्षेत्र जैविक विविधताले सम्पन्न छ । जहाँ, साना–साना तलाउहरुका साथै वनस्पति र चराचुरुंगीको बासस्थान पनि रहेको छ । सो स्थान पर्यटकहरुका लागि लोभ्याउने खालको रहेको छ । तर, सोही क्षेत्रमा करिब १० हजार मानिस अटाउने ध्यान केन्द्र बनाउन एउटा विदेशी कम्पनीलाई जिम्मा दिने तयारी गरिएकोमा बौद्ध भिक्षुहरुले तीव्र विरोध जनाएका छन् ।

कसलाई दिन लागिएको हो ?

लुम्बिनीको उत्तरी क्षेत्रमा अवस्थित उक्त ठाउँको मौलिक सम्पदाहरु मासेर ध्यान केन्द्र बनाउनका लागि थाईल्याण्डको धम्मकाय फाउन्डेसनलाई जिम्मा दिने भित्रभित्रै तयारी भइरहेकोमा भिक्षुहरुले विरोध जनाएका हुन् । बौद्ध भिक्षुहरुले उक्त ठाउँमा ठूला भवनहरु बनाउँदा जैविक सम्पदा मासिने भएको र लुम्बिनी क्षेत्रको सौन्दर्य नै कुरुप हुने तर्क राखेर लुम्बिनी विकास कोषलाई पटकपटक सजग तुल्याउँदै आएका छन् । साथै, भिक्षुहरुले उक्त क्षेत्रमा विदेशी संस्थालाई भवन बनाउन दिन लागिएकोमा कोषका पदाधिकारीलाई ज्ञापन पत्र बुझाउनुका साथै तीव्र विरोधसमेत गर्दै आएका छन् । तर, भिक्षुहरुको विरोधलाई कोषका पदाधिकारीहरुले बेवास्ता गर्दै आइरहेका छन् ।

अजीतमान थाईल्याण्डमै व्यस्त

लुम्बिनी क्षेत्रमा ध्यान केन्द्र बनाउनका लागि थाईल्याण्डको धम्मकाय फाउन्डेसनसित भित्रभित्रै काम पट्याउन सदस्य–सचिव अजीतमान तामाङ नै सक्रिय रहेको बताइन्छ । सोही प्रयोजनका निम्ति उनी अहिले थाईल्याण्डमै व्यस्त रहेका छन् । एक हप्ताअघि थाईल्याण्ड गएका तामाङले भिक्षुहरुको विरोध हुँदाहुँदै पनि सो फाउन्डेसनसँग कुरा मिलाउन त्यता गएको बताइन्छ ।

यसअघि पनि तामाङ सोही कामका निम्ति दुई पटक थाईल्याण्ड गएर सो फाउन्डेसनका प्रमुखसँग कुराकानी गरेर फर्किएका थिए । यसअघि उनीसँगै केही राजनीतिक दलका विशिष्ट नेतासमेत गएको बताइन्छ । तर, थाईल्याण्डमा क्रियाशील उक्त फाउन्डेसन उक्त देशभित्रै विवादास्पद संस्थाको रुपमा चिनिन्छ । सो संस्थाका प्रमुखले कमाएको कालो धनलाई सेतो बनाउनकै निम्ति लुम्बिनीमा लगानी गर्न खोजेको सूत्रको भनाइ छ ।

करोडौं बजेट फ्रिज

कोषका सदस्य–सचिव तामाङ लुम्बिनी क्षेत्रको जैविक सम्पदा मासेर ठूला–ठूला भवन बनाउनका लागि विदेशीहरुसँग हातेमालो गर्न कुदिरहे पनि सरकारले वृहत्तर लुम्बिनी क्षेत्रका लागि छुट्याएको बजेट भने बर्सेनि ‘फ्रिज’ हुँदै आइरहेको छ ।

गत आर्थिक वर्षमा सरकारले लुम्बिनी क्षेत्रको विकासका लागि ५५ करोड रुपियाँ विनियोजन गरेको थियो । तर, त्यसमध्ये करिब २० करोड रुपियाँ फ्रिज हुन पुग्यो । त्यस्तै, चालु आर्थिक वर्षमा लुम्बिनी साँस्कृतिक केन्द्रको भवन बनाउन समेत गरी सरकारले ६० लाखभन्दा बढी नै बजेट छुट्याएको छ । तर, कोषका पदाधिकारीहरुमा सदस्य–सचिव तामाङ कमिसनको लोभमा विदेशी दातृ निकायहरुलाई गुहार्ने र उपाध्यक्ष भिक्षु निग्रोध भने प्रायः काठमाडौंमै रहने गरेका हुँदा कोषको काम प्रभावित बन्दै गइरहेको छ । त्यसो त, कोषका कोषाध्यक्ष ओम अर्यालको पदावधि सकिएको, उपाध्यक्ष निग्रोध काठमाडौंमै रहने गरेका र सदस्य–सचिव आफ्नो काम पट्याउन विदेशतिर बढी उड्ने गरेका कारण कोषको काम प्रभावित बन्दै गइरहेको बताइन्छ । कोषका पदाधिकारीहरुले लुम्बिनीलाई दुहुनो गाई मात्र बनाइरहेको सूत्रको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्