लुम्बिनीलाई बेवास्ता गदैछन् मन्त्री शाही


१२ कात्तिक । मन्त्री भएको लामो समय बितिसक्दा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीको नजरमा लुम्बिनी क्षेत्रको विकास पर्न सकेको छैन । मन्त्री शाही र लुम्बिनी विकास कोषका पदाधिकारीबीच उचित समन्वय हुन नसक्दा यस्तो समस्या उत्पन्न भएको हो । पूर्ववर्ति संस्कृति मन्त्रीहरुले पद सम्हालेलगत्तै लुम्बिनीबारे अत्यधिक चासो राख्ने गरे पनि वर्तमान मन्त्री शाहीले भने कोषका काम–कारबाहीबारे पटक्कै वास्ता गरेका छैनन् ।

विश्व सम्पदा सूचिमा सूचिकृत लुम्बिनीमा हरेक वर्ष लाखौं पर्यटकहरु घुम्न आउँछन् । बाह्य र आन्तरिक पर्यटकहरुको लुम्बिनीमा भीड नै लाग्ने गर्दछ । सरकारले पनि पर्यटन प्रबद्र्धनका लागि लुम्बिनी र सगरमाथालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ । तर, आफू अध्यक्ष भए पनि मन्त्री शाहीले भने पद सम्हालेपछि एक पटक पनि लुम्बिनी विकास कोषको बैठक बोलाएका छैनन् र पदाधिकारीहरुलाई बोलाएर लुम्बिनीको विकास, निर्माणमा भइरहेका प्रगतिबारे सोधपुछ गर्ने कामसमेत गरेका छैनन् ।

मन्त्री शाहीले नै लुम्बिनीका कामहरुबारे बेवास्ता गरेपछि पदाधिकारीहरुले पनि त्यति वास्ता गरेका छैनन् । मन्त्री शाहीले पद बहाली गरेपछि एक पटक पदाधिकारीहरुले खादा ओढाउनु बाहेक मन्त्री र कोषका पदाधिकारीहरुबीच भेट समेत नभएको बताइन्छ । कोषको उपाध्यक्ष भिक्षु निग्रोध, सदस्य–सचिव अजीतमान तामाङलगायत पदाधिकारीहरुले पनि आफूखुसी कामहरु गर्दै आइरहेका छन् । कोषका पदाधिकारीहरुले मन्त्री र मन्त्रालयका सचिवलगायत अरु कर्मचारीहरुसित परामर्श गरी काम गर्न छाडेको पनि धेरै भइसकेको छ ।

यसैबीच, जापानको एउटा सहर र लुम्बिनीबीच भगिनी सम्बन्धका लागि सम्झौता हुने कार्यक्रममा पनि मन्त्री शाही गएनन् । बिहीबार जापानको कोया सिटी र लुम्बिनीबीच भगिनी सम्बन्ध कायम गर्नेबारे सम्झौता भयो । उक्त सम्झौता गर्दा मन्त्री शाही पनि उपस्थित हुने बताइएको थियो । तर, अन्तिम चरणमा आएर मन्त्री नआउने भएपछि उपाध्यक्ष, सदस्य–सचिव र अरु पदाधिकारीहरुको सहभागितामा सो सहरका मेयर र कोषको उपाध्यक्षबीच सम्झौता भएको छ ।

जापानको सो सहर र लुम्बिनी दुवै विश्व सम्पदा सूचिमा रहेको हुँदा भगिनी सम्बन्ध कायम भएको जनाइएको छ । कोया सिटीका मेयर र कोषको प्रतिनिधिबीच होटल कासाईमा सम्झौता भएको थियो । जापानको कोया सिटीको मेयरसहित आएको १५ जनाजतिको टोली लुम्बिनी र त्यसआसपासका विभिन्न ठाउँहरुको भ्रमण गरी बिहीबार नै काठमाडौं फर्किएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्