‘लेखन–कुञ्ज’ लाई स्रष्टाहरुका हब बनाउँदै छुः कमल ढकाल


–लेखन–कुञ्ज कसरी जन्मिन पुग्यो ?

हरेक सिर्जनाका कुरा लेखनबाटै प्रारम्भ हुन्छ । हामी जसलाई आर्ट भन्छौं, त्यो पनि कुचीले लेख्ने कार्य हो । जब कुनै गायकले गीत गाउँछन्, त्यसको सुरुवात पनि लेखेर नै हुन्छ । तसर्थ, लेख्ने कुरा असाध्यै महत्वपूर्ण कुरा हो । लेखन यति महत्वपूर्ण कुरा हो, आजसम्म जेजे चिजहरुबारे लिपिबद्ध भए, हामीले त्यसबारे मात्र थाहा पाउँदै आएका छौं ।

मैले घोस्ट राइटिङ नेपाल सञ्चालन गर्दै आएको थिएँ । त्यसले सिर्जनशील लेखन कार्यशाला चलाइरहेको थियो । एक–दुई वटा पुस्तक प्रकाशन गर्दै आइरहेको थियो । अब भने ३–४ वटा काम एकै ठाउँमा बसेर गर्न सकिन्न भन्ने कुरा महसुस भयो । तसर्थ, लेखनलाई व्यवस्थित गर्न र देशभरि छरिएर रहेका लेखकहरुलाई एकत्रित गर्ने ठाउँ चाहिन्छ भन्ने मलाई बोध हुँदै गयो र लेखन कुञ्ज जन्मिन पुग्यो ।

लेखन कुञ्जका लागि अनुकूल हुने त्यस्तो थलोको खोजीमा मैले केही वर्ष बिताएँ । धेरै ठाउँ चहारेँ । त्यही क्रममा नयाँ बानेश्वरको थापा गाउँमा त्यस्तो एउटा जग्गा भेटेँ र अहिले त्यही ठाउँमा लेखन कुञ्ज सञ्चालन गरिरहेको छु ।

लेखन कुञ्जभित्र थुप्रै कुञ्जहरु छन् । त्यसमा शान्त कुञ्ज, कौतूहल कुञ्जहरु छन् ।

–एउटै लेखन कुञ्ज भए पुग्दैनथ्यो ? लेखन कुञ्जभित्र विभिन्न कुञ्जहरु बनाउनुको कारण चाहिँ के हो ?

अहिले कुञ्ज भन्ने शब्द नेपाली समाजबाट हराउँदै गएको छ । त्यो शब्दको आफ्नै अस्तित्व र महत्व छ । कुञ्ज भन्ने शब्द कानमा गुञ्जिँदा मात्र त्यसले आनन्दको अनुभूति दिलाउँछ । मैले लेखन कुञ्जभित्रको क्याफेको नाम पनि कुञ्ज–क्याफे राखेको छु । र, यही भित्रको थियटरको नाम पनि कुञ्ज–थियटर राखेको छु । जहाँसुकै कुञ्ज सुनियोस् र आफ्नो त्यो आवाज, ध्वनिका रुपमा बाहिर आउँदा आनन्द होस् भन्ने ठानेर कुञ्ज शब्द चयन गरेको हुँ ।

–स्रष्टाहरु लेखन–कुञ्जमा प्रवेश गरेपछि त्यहीभित्रको वातावरणमा हराउन भन्ने तपाईको चाहना हो ?

निश्चय नै । स्रष्टाहरु कहाँ जाने ? त्यही नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय नाचघर न हो । नेपालमा निजी प्रयत्नमा स्रष्टाहरुलाई एउटै थलोमा उभ्याउने काम अहिलेसम्म भएका छैनन् र मैले त्यो प्रयत्न थालेको हुँ ।

–तपाईले लेखन–कुञ्ज बनाउँदा बाँसको प्रयोग गर्नुभएको छ । किन यस्तो प्रयोग गर्न चाहनुभएको हो ?

हाम्रा पुर्खाहरु बाँसको घर बनाएर बस्थे र ती घरहरुमा गाईको गोबरले लिप्थे । हामी त्यस्तै घरमा बसेका पुर्खाबाट हुर्किएका सन्तति हौं । तर, सबैतिर कंक्रिटले घेरिएको सहरको बीचमा बाँस प्रयोग गरेर नयाँ घर बनाउँदा अचम्म लाग्नु स्वाभाविकै हो ।

लेखकहरु बेग्लै लोकका प्राणी हुन् । र, हामीकहाँ आउँदा पनि उनीहरुले बेग्लै अनुभूति गरुँन भन्ने लाग्छ र नयाँ प्रयोग गरेर घर बनाएका हौं ।

–तपाईले घोस्ट राइटिङ सुरु गर्नुभयो । त्यसबारे सुरुका दिनहरुमा कस्ता प्रतिक्रिया पाउनु भयो ?

म एक पटक विराटनगर गएको थिएँ । म सुरुमा त्यहाँका लेखकहरुकहाँ पुगेँ । त्यसपछि काँकडभिट्टा, इटहरी, धरान, बेलबारीलगायत ठाउँमा पुगेर मैले स्रष्टाहरुसँग अन्तक्र्रिया गरेँ । तर, सबैले मलाई ‘घोस्ट राइटिङजस्ता चिज पनि बोकेर आउने ?’ भनेर प्रश्न गर्थे । म अचम्ममा परेँ । विश्वमा डेढ दुई सय वर्षअघि सुरु भएको घोस्ट राइटिङ नेपालमा बल्ल सुरु हुँदै छ, किन यस्तो प्रतिक्रिया आएको होला भनेर म अचम्ममा परेको थिएँ ।

–सिर्जनात्मक लेखनको पढाइ पनि हुँदै आएको छ, होइन र ?

सिर्जनात्मक लेखनमा हामीले सिद्धान्त, व्यवहार र प्रयोगबारे सिकाइरहेका छौं । हामी सुरुमा सिद्धान्त पढाउँछौं, त्यसपछि त्यसलाई प्रयोगमा उतार्न लगाउँछौं । र, अहिले सिर्जनात्मक लेखनको दसौं व्याच चलिरहेको छ र विगत ४ वर्षदेखि यो लेखन कक्षा सञ्चालन भइरहेको छ ।

–सिर्जनात्मक लेखनमा कुन कुन स्रष्टाहरुलाई निम्त्याइसक्नु भयो, अहिलेसम्म ?

यो हप्ता गीतसम्बन्धी लेखन कार्यशाला थियो । त्यसमा दिनेश अधिकारी, कृष्णहरि बराल र गजल लेखनमा ज्ञानुवाकर पौडेल आउनुभएको थियो । त्यसअघि कविता सेसनमा तुलसी दिवश, विप्लव ढकाल, प्रदीप ज्ञवाली र फूलमान बल आउनुभएको थियो ।

–प्रशिक्षण दिएको आधारमा मानिसहरु लेखक बन्न सक्छन् र ?

घोस्ट राइटिङ सुरु गरेको समयमा पनि मानिसहरु सन्देह व्यक्त गर्थे । अरुले लेखिदिएको आधारमा लेखक बनिन्छ र, भन्ने गरिन्थ्यो ।

सबै मानिस कथाकार हुन्, सबै मानिस कवि हुन्– संवेदनाका दृष्टिले । साहित्य मानिसभित्र हुन्छ, प्रकृतिभित्र हुन्छ । साहित्य खोज्न कतै जानु पर्दैन । तर, त्यसलाई लेखनमा उतार्ने कुरा महत्वपूर्ण हो ।

सिर्जनात्मक लेखन कार्यशालाले मानिसलाई सिर्जना गर्ने भावना जगाइदिन्छ । पानी त आकाशबाट पनि पर्छ र जमिनमुनिको निश्चित सतह छिचोल्दा पनि आउँछ । हामीले खाने पानी त त्यही जमिनमुनिकै हो । जमिनमुनिको पानीको सतहसम्म बोरिङ गाड्यौं भने जमिनमुनिबाट पानी आउँछ । सिर्जनात्मक लेखन कार्यशालाले नलेख्नेहरुलाई जमिनमुनिको पानीको त्यही सतहमा लगेर छुवाइदिने काम गर्छ र पानी निकाल्ने काम गरिदिन्छ ।

अहिले सिर्जनात्मक लेखन कार्यशालाको दसौं व्याच चलिरहेको छ र अहिले यो विन्दुसम्म आइपुग्दा मलाई लागेको एउटै कुरा हो, साहित्य लेखन सिकेर सिकिन्छ ।

–त्यसो भए तपाई लेखन–कुञ्जलाई स्रष्टाहरुका हब बनाउने योजनासहित अघि बढ्दै हुनुहुन्छ ?

त्यस्तो बनोस् भन्ने मेरो चाहना छ । त्यो प्रकृतिले बनोस्, अरु चिजहरुले बनोस् । मलाई लाग्छ, यो लेखन कुञ्जभित्रको क्याफेमा पाइने खाजाले पनि बनोस् । हामी मौलिक नेपाली खाजाहरु बनाउने गरी क्याफे पनि सञ्चालनमा ल्याउन लागिरहेका छौं ।

सिर्जनशील लेखन, घोस्ट राइटिङका साथै अब हामी थियटर राइटिङमा पनि जाँदैछौं । यी सबैको संयोजन गर्ने कार्य लेखन–कुञ्जले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्