लेखा फाँट हेर्ने भीमबहादुरको फार्ती–फुर्तीले अख्तियार नै आजित


१ असार । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङसँग मिलेर लाखौं रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका कोषको लेखा फाँट हेर्ने भीम बस्नेतलाई आयोगले नै बढुवाका लागि बाटो खुला गरिदिएको छ । आयोगले छानबिनको दायरामा उभ्याएका बस्नेतलाई कसरी बढुवाका लागि पत्र दियो ? अहिले कोषभित्र हल्लीखल्ली मच्चिएको छ ।

अहिले कोषको लेखा फाँट सम्हालिरहेका बस्नेतलाई सदस्य सचिव तामाङले कोषभित्र अनियमितता गर्नकै लागि लेखामा लगेका थिए । तर, बस्नेत कम्प्युटर अपरेटर हुन् र उनको सेवा इन्जिनियरिङ शाखा हो भने समूहचाहिँ प्रशासन हो । तर, प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेका बस्नेतले केही दिनअघि काठमाडौं गएर अख्तियारका कर्मचारीलाई मोटो रकम दिई लेखा अधिकृतमा बढुवाका लागि पत्र लिएका थिए । केही दिनअघि उनले कोषका उपाध्यक्ष भिक्षु निग्रोधको कार्यकक्षमा बढुवाका लागि अख्तियारबाट ल्याएको पत्र बुझाएका थिए । तर, उपाध्यक्ष अहिले लुम्बिनीमा नभएको हुँदा उनको पत्रमाथि केही सुनुवाइ भएको छैन ।

कोषका पदाधिकारी र कर्मचारीहरूले आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारले कोषको पाँच वर्षदेखिका कागजपत्रहरू लिएर छानबिन गरिरहेको हो । यही बीचमा पनि अख्तियार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत बस्नेतलाई बढुवा नगर्न आदेश दिएको थियो ।

कोषभित्रको अनियमितताबारे छानबिन गर्न आएका अख्तियारका कर्मचारीले त बस्नेतलाई तपाईंको शाखा पनि अर्कै रहेछ र बढुवाका लागि शैक्षिक योग्यता पनि नपुग्ने रहेछ भनेर जवाफ दिएका थिए । तर, छानबिन गरिरहेका अख्तियारकै कर्मचारीलाई छक्याउँदै बस्नेतले बढुवा हुन पाउने पत्र अख्तियारबाटै लिएका छन् । लेखा अधिकृतमा बढुवा हुनका लागि स्नातक तह उत्तीर्ण गर्नुपर्ने र लेखासम्बन्धी ज्ञान हुनुपर्ने भए पनि बस्नेतको भने विनायोग्यता नै बढुवा हुन लागेको बताइन्छ । बुधबारबाट

प्रतिक्रिया दिनुहोस्