लैला मजनूको कथा सुनाउँदै नेपालले भने– ‘प्रेम गर्ने बित्तिकै राष्ट्रपति बन्न पाइन्छ ?’


१० असोज । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मधेस मुक्तिका कुरा निजी स्वार्थ भएकाहरुले मात्र उठाएको बताएका छन् । प्रेस चौतारी नेपालको मधेस मामिला समन्वय विभागले आयोजना गरेको ‘मधेसका सवाल र समाधानका उपाय’ विषयक अन्तत्र्रियामा बोल्दै नेपालले आज यस्तो बताएका हुन् । ‘लुम्बिनी कहाँ पर्छ ? विराटनगर कहाँ पर्छ भन्ने पनि थाहा नभएकाहरुले आफ्नो निजी स्वार्थका लागि मात्र उठाएको यो एजेण्डाको कुनै अर्थ छैन,’ नेपालले भने ‘म तराई–मधेसको घानी, घानीको पनि खानीको मान्छे हुँ । मलाई मधेसका बारेमा आन्द्राभुँडी थाहा छ ।’

नेपालले तराई–मधेसका केही जमिनदारहरुले गलत प्रचार गरेर मधेसी जनतालाई भड्काएको पनि आरोप लगाए । ‘मलाई अचम्म लाग्यो, एक कार्यक्रममा मधेसी मोर्चाका नेताले तराईको जनतालाई ढाँटेको देख्दा म स्तब्ध भएँँ,’ नेपालले भने ‘२०२१ सालमा भूमिसुधार लागू हुँदा मधेसीहरुको सबै जग्गा खोसियो । त्यसो होइन, त्यहाँको जमिन त्यहीँका जमिनदारले खोसे । जमिनदार भनेका त्यहीँका राजपूत हुन् । त्यहीँका भूमिहार हुन्, त्यहीँका साहुकार हुन् ।’

मधेसका जमिनदारले गरिबका जग्गा लुकाएको समेत नेपालले आरोप लगाए । ‘त्यहाँका जमिनदारहरुले गरिबका जग्गा बाख्राको नाममा, कुकुरका नाममा, कुखुराका नाममा लुकाउने काम गरे,’ उनले भने ‘देहव्यापार गर्ने, दलितलाई घरभित्र पस्न नदिने, दलित र गरिबलाई मिटर ब्याजमा पैसा दिनेको चर्चा छैन । त्यहाँ जात वा समूदायसँग होइन व्यक्तिको मानसिकतासँग जोडेर हेरिएको छ । यो गलत छ ।’

कसको पालामा अलग थियो मधेस ?

नेपालले कहिल्यै पनि मधेसका जनता राज्यबाट अलग नभएको चर्चा गरे । ‘मकवानपुरे राजा, सेनवंशी सबैलाई हेरौँ न, उनीहरुले कहाँ बसेर राज्य गरेका थिए ? कुन कालखण्डमा अलग थियो देखाउनु प¥यो’ नेपालले भने ‘जात, धर्म र क्षेत्रसँग जोडेर राजनीति गर्नुहुँदैन । यी संवेदनशील कुरा हुन् । यो आगोसँग खेल्नु जस्तै हो ।’ नेपालले नेपालजस्तै एउटै राष्ट्रियता भएको देशमा बहुराष्ट्रियताका कुरा गर्नु नहुने पनि दाबी गरे ।

अमेरिकाबाट आएकालाई पनि राष्ट्रपति ?

कार्यक्रममा बोल्दै नेपालले विवाह गरेर आउने बित्तिकै सबैलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउन नसकिने दाबी गरे । ‘एक ठाउँमा विवाह गरेर आएका महिलाले राष्ट्रपति, प्रधानमन्त्री बन्न नपाउने ? भनेर भन्नुभयो,’ नेपालले भने ‘विवाह गरेर आउने सबैलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने हो भने अमेरिकाबाट विवाह गरेर आएकालाई पनि बनाउने ? संसारभरको नियम नै हो । अन्तबाट विवाह गरेर आएका अंगिकृत हुन्छन् । उनीहरुले मापदण्ड पूरा गरेपछि मात्र केमा उठ्ने हो पाउँछन् ।’

राष्ट्रपति बन्न विवाह गर्ने ?

उनले राष्ट्रपति बन्नैका लागि विवाह गर्ने कुरा गलत भएको तर्क गरे । ‘राष्ट्रपति बन्नकै लागि विवाह गर्ने,’ नेपालले भने ‘लभ भनेको कुरा कस्तो हुन्छ । त्यसै विवाह हुन्छ ? लैला–मजनूको कथा सुन्नुभएको छ ? पद पाउनकै लागि कसैले विवाह गर्छ । कोही मूर्ख छ । विवाह गर्ने बित्तिकै पद पाउने भए अमेरिकामा पनि त विवाह गरेर गएका छन् नि ? बंगलादेशीसँग विवाह गर्ने बित्तिकै पाइहाल्छ ?’ नेपालले प्रेम गरेर वा केही गरेर विवाह गर्ने बित्तिकै पद पाइहाल्ने कुरा नेपालमा सम्भव नभएको दाबी गरे ।

म एक्लैले ठीक लगाउँछु

तराई–मधेसमा आफू जाने बित्तिकै कालो झण्डा देखाएको, तराईको आफ्नो घर दुई पटक जलाएको प्रसङ्ग पनि नेपालले सुनाए । ‘मैले उनीहरुको के खाएको थिएँ, मेरो बुबा, हजुरबाले के खाएका थिए र उनीहरुले मेरो घर जलाए,’ । कार्यक्रममा सांसद लालबाबु यादवले तराई मधेसका माग उपयुक्त नभएको तर्क गरे । उनले पनि तराई मधेसका समस्या समाधान गर्न सबैले छलफल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्