लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैनः बाबुराम भट्टराई


१५ पुस । नयाँ शक्ति नेपालका संयोज डाक्टर बाबुराम भट्टराइृले अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरुले जनतामा भ्रम छर्ने प्रयत्न गरेको आरोप लगाएका छन् ।
भट्टराईले शुक्रबार एक अपील जारी गर्दैै यस्तो आरोप लगाएका छन् । ‘संविधानसभाबाट नयाँ संविधान जारी भएपछि देशको राजनीति जुन दिशा र गतिमा अघि बढ्नुपर्‍थ्यो त्यसो हुन सकिराखेको छैन,’ अपीलमा भनिएको छ, ‘मूलतः राज्य पुनःसंरचनाको काम द्रुत रुपमा अघि बढ्नु पर्दथ्यो ।

तर त्यसो हुनुको सट्टामा संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन समेत दलहरु असफल भएका छन् । संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिराखेका छन् ।’

अपिलमा राजनीतिक अस्थीरता र दलहरुको असफलताले निराश बनाएको बेला जो–कसैले दल र राजनीतिलाई गाली गरिदियो भने क्षणिक आनन्द  हुन सके पनि त्यो समाधान नभएको पनि उल्लेख गरेका छन् ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन बरु अझ उन्नत लोकतन्त्र हो । संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाऔं, लोकतन्त्रलाई अझ उन्नत बनाऔं, वैकल्पिक राजनीति निर्माण गरौं,’ अपीलमै भनेका छन्, ‘निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ । त्यसैले यसतर्फ सबैलाई सचेत गराउन चाहन्छौं ।

अर्कोतिर हिजोका आफ्नै प्रतिवद्धताबाट पछि हट्ने दुस्साहस कसैले पनि नगरौं । यसले कसैको क्षणिक स्वार्थ त पूरा गर्ला तर त्यो पनि कालान्तरमा ‘पिसाबको न्यानो’ सिद्ध हुनेछ ।’

उनले सबैभन्दा पहिले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन मार्फत संविधानमा रहेको अपूर्णतालाई विगतका सहमति, सम्झौता र निर्मित आधारहरुका आधारमा तत्काल पूर्णता दिन आग्रह गरेका छन् ।

‘संविधानमा राज्य पुनःसंरचनाको एउटा मुख्य पाटो शासकीय स्वरुप पनि उही पुरानै असफल सिद्ध र अस्थीर राजनीतिको कारक संसदीय व्यवस्था नै कायम हुन पुगेको छ,’ उनले भनेका छन्, ‘आर्थिक विकास र समृद्धिको यात्राका लागि स्थीर सरकार हुनु अत्यावश्यक छ ।

राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प हो । यो पक्षलाई पनि सँगसँगै सच्याएर अघि बढौं । यसका लागि आवश्यक जनदवाव सिर्जना गर्न नयाँ शक्ति पार्टी, नेपाल सबैलाई अपील गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्