लोकदोहोरीका नेता बने बद्री पंगेनी


१२ असोज । माया–प्रेमका गीत गाउन खप्पिस रहे पनि सबैले बद्री पंगेनीलाई ‘एमालेको गायक’ भनेर चिन्छन् । हुन पनि, एमालेका वरिष्ठ नेताहरुका सभालाई गीत गाएरै रोमाञ्चित बनाउने पंगेनीले धेरै लोकदोहोरी गीत गाएका छन् । बितेको वर्ष मात्रै उनको ‘तिम्रो साथमा रातो पछ्यौरीले…’ सर्वाधिक रेकर्ड कायम गरेको थियो ।

पंगेनीले गाएको ‘तिम्रो साथमा रातो पछ्यौरीले’ ले यति धेरै लोकप्रियता कमायो, अहिलेसम्म यूट्युवमा त्यसका ‘भ्युअर्स’ मात्रै पौने नौ लाख पुगेका छन् । तिनै चर्चित लोकदोहोरी गायक पंगेनीले आजैबाट लोकदोहोरी क्षेत्रमा लागेका कलाकारहरुको नेता बन्ने सौभाग्य पाएका छन् ।

आज सकिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशनबाट पंगेनी अध्यक्षमा निर्वाचित भएका छन् । लोक र दोहोरी क्षेत्रमा समर्पित कलाकारहरुको प्रसिद्ध संस्थामा उनले अत्यधिक मत ल्याएर निर्वाचन जितेका हुन् । प्रतिष्ठानको निर्वाचनमा कलाकारहरु पार्टीगत रुपमा मैदानमा उभिएका थिए । जसमा, पंगेनीले एमाले, विष्णु खत्रीले माओवादी र टीकाराम चापागाईले नेपाली कांग्रेसको प्रतिनिधित्व गरेका थिए । पंगेनी ८ सय ८८ मत ल्याएर अध्यक्षमा निर्वाचित भए भने खत्रीले ५ सय ५ र चापागाईले ३ सय ३० मत ल्याए ।

पाल्पाको रामपुरमा जन्मिएका पंगेनीले थुप्रै चर्चित गीतहरु गाएका छन् । उनले ‘ससुरालीमा, ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘मन थिएन जोगी बन्नलाई’, ‘अहिलेको दसैंमा’ जस्ता सयौं लोकदोहोरी गीतमा स्वर दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्