लोकमानका बारेमा शेरबहादुर देउवाले मुख खोलेः ‘जनमतअनुसार पार्टीबाट निर्णय गर्छु’


७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव चाँडो पारित गराउन माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले आइतबार पनि शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । शनिबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा भेटी ध्यानाकर्षण गराएका विद्यार्थी संगठनले आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

अनेरास्ववियु, नेविसंघ अलिख क्रान्तिकारीलगायतका विभिन्न १३ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा देउवा निवासमा गइ सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्रमा मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब पारित गराउन आग्रह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
पत्र बुझेपछि सभापति देउवाले कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता गरेका थिए ।

सभापति देउवाले पार्टी र संसदीय दलको बैठकमा सो प्रक्रियामा बारेमा छलफल गरी जनमतअनुसार निर्णय लिने विश्वास दिलाएका थिए । उनीहरुले आइतबार दिउँसो दबाबमूलक कार्यक्रमस्वरुप बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्