लोकमानका मानिसहरु किन धम्कीमा उत्रिए ?


८ कार्तिक । नेकपा (माओवादी–केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले आफूलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीका मानिसहरुले धम्की दिएको कुरा बाहिर ल्याएलगत्तै कार्कीका मानिसहरुले अरुहरुलाई पनि धम्की दिने शृंखला नै सुरु गरेका छन् । अख्तियार प्रमुख कार्कीविरुद्ध महाभियोग प्रस्तावका प्रस्तावक शाहीलाई लोकमानका मानिसहरुले धम्की दिएको कुरा शाही स्वयंले सार्वजनिक गरेका थिए ।

प्रस्तावक शाहीलाई मात्र होइन, लोकमानविरुद्ध उभिने विभिन्न व्यक्ति र सञ्चारमाध्यममा समेत केही दिनयता बारम्बार लोकमानका मानिसहरुले धम्की दिन थालेका छन् । धम्कीको मारमा प्रेस चौतारीका अध्यक्ष र ‘राजधानी’ दैनिकका पत्रकारहरु पनि परेका छन् । आइतबार व्यवस्थापिका–संसद्मा लोकमानविरुद्धको महाभियोग प्रस्तावले प्रवेश पाएसँगै लोकमानका मानिसहरुले धम्क्याउने क्रम सुरु गरेका हुन् ।

राजधानी दैनिकका सम्पादक राजन शर्मा, प्रेस चौतारीका अध्यक्ष एवं सो दैनिकका समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई आइतबार साँझ लोकमानका मानिसहरुले लोकमानविरुद्ध समाचार नलेख्नु भनी धम्काएको बताइन्छ । सोमबार प्रेस चौतारी, नेपालले विज्ञप्ति जारी गर्दै धम्की दिने दोषीको पहिचान गरी कारबाही गर्न र पत्रकारहरुलाई निर्भयतापूर्वक समाचार संकलन, सम्प्रेषण र प्रकाशन गर्ने वातावरणको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।

चौतारीको विज्ञप्तिमा भनिएको छ, ‘लोकमानको नाममा दिइएको यस प्रकारको धम्की प्रेस जगतलाई आफ्नो कर्तव्य तथा दायित्वबाट विमुख गराई नागरिकमा उनीविरुद्ध जागृत चेतनालाई कमजोर पार्ने र आफ्नो अपराध ढाकछोप गर्ने प्रयत्नको रुपमा हामीले लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्