लोकमानको आदेश नमान्दा संविधान निर्माण प्रक्रियामा अवरोध गर्ने प्रयास भयोः सुवास नेम्वाङ


१० कात्तिक । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले संविधान निर्माण प्रक्रियामासमेत अवरोध गरेको खुलासा गरेका छन् ।

प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले दसैँ, दिपावली, छठलगायतका चाडपर्वको अवसरमा बुधबार लगनखेलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै  नेम्वाङले यस्तो खुलासा गरेका हुन् । ‘आफू शक्तिशाली हुने गरी संविधान निर्माण हुनुपर्ने भन्दै कार्कीले दबाब दिएका थिए,’ नेम्वाङले भने ‘दबाब नमानेपछि कार्कीले पदीय जिम्मेवारीसमेत दुरुपयोग गरे ।

लोकमान शक्तिशाली हुने गरी संविधानको मस्यौदाका क्रममा अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्य भन्ने शब्द हटाउन नदिन दबाब समेत दिएका थिए ।’ कार्कीको चाहना अनुसार नभएपछि संविधान मस्यौदा समितिका सचिव रबिराज अर्याललाई अख्तियारले चिठी काटेर बयान लिने काम पनि गरेको पनि उनले खुलासा गरे ।  संविधानसभाका सदस्यलाई प्रभावमा पार्न नसकेपछि कार्कीले सचिवालयका कर्मचारीलाई अख्तियारको प्रयोग गरी बयान लिदैँ धम्क्याएको पनि उनले खुलासा गरे ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले लोकमानले अख्तियारलाई व्यक्तिगत कम्पनी जस्तै चलाएको समेत आरोप लगाए । संसदीय समितिको अवज्ञा गर्ने, समितिको आदेश नमान्ने काम कार्कीले गरेको भन्दै उनीमाथि लागेको महाअभियोग प्रस्तावलाई पारित गर्नुपर्नेमा जोड दिए ।  चौतारी ललितपुरका अध्यक्ष डिल्लीराज आचार्यको अध्यक्षतामा सम्पन्न चियापान कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य रघुजी पन्त, केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रचार विभागका सचिव बिष्णु रिजाल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, नेपाल पत्रकार महासंघका महासचवि उजिर मगर लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्