लोकमानको पक्षमा खुलेकी माओवादी सांसद रुपा भन्छिन– ‘सामाजिक सञ्जालमा जे लेखेँ त्यही हो’


४ कार्तिक । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकालको समर्थनमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि अहिले त्यसको सर्वत्र चर्चा भएको छ । त्यसको पक्ष र विपक्षमा बहस केन्द्रित भैरहेका बेला माओवादीकै एक सांसदले भने कार्कीका पक्षमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएपछि त्यसले झन चर्चा पाएको छ ।

माओवादीकी समानुपातिक सांसद रुपा महर्जनले झुक्याएर महाअभियोग प्रस्तावमा हस्ताक्षर गराइएको भन्दै हस्ताक्षर गराउनेलाई नै कारवाहीको माग गरेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि निकै चर्चा भएको हो । ती सांसदले आफ्नो स्ट्याटसमा पार्टी नेतृत्वलाई गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री रहेका बेला तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाललाई चलाउँदा प्रधानमन्त्री पद खुस्किएको समेत स्मरण गराएकी छिन् ।

उनीसँग यसबारेमा उनीसँग पहिलो न्युजडटकमले प्रतिक्रिया लिदाँ आफूले सामाजिक सञ्जालमा जे व्यक्त गरेको हो त्यही नै सत्य भए बताइन् । कार्कीका पक्षमा किन तपाईँको मत ? भन्ने प्रश्नमा भने उनले केही बताउन चाहिनन् । उनी तत्काल सञ्चारमाध्ययमलाई कुनै प्रतिक्रिया दिने पक्षमा नरहेको भन्दै तर्किइन् ।

प्रतिक्रिया दिनुहोस्