लोकमानको मुद्दामा दुई सुरक्षा प्रमुख तानिने


११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा लोकमानसिंह कार्कीले त्यहाँ बसेर एक्लै बद्मासी गरेका थिएनन् । सरकारी ओहदामा रहेका केही कमजोर अधिकारी र शक्ति केन्द्रका आडमा उनले मच्चाएका ताण्डवका एकपछि अर्को रहस्य फेला पर्दै गएपछि त्यस्ता अधिकारीहरुमाथि पनि छानबिन हुने भएको छ ।

संसदको महाअभियोग सिफारिश समितिले तीन सदस्यीय उपसमिति गठन गरेर कार्कीका कर्तुतबारे छानबिन थालेपछि त्यसबारेका उजुरीहरु धमाधम दर्ता हुन थालेका छन् । स्रोतका अनुसार, महत्वकांक्षी कार्कीले प्रयोग गरेका दुई सुरक्षा प्रमुखका विरुद्धमा उपसमितिमिा उजुरी दर्ता भएको छ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख दीलिप रेग्मी संसदीय छानबनिको घेरामा आउने भएका छन् ।

स्रोतका अनुसार, कार्कीका हरेक योजनालाई सफल बनाउन महानिरीक्षक अर्यालले कुनै कसर बाँकी राखेका थिएनन् । अख्तियार स्रोत भन्छ, ‘आइजी अर्यालले बरु आफ्नो विभागीय मन्त्रीलाई टेरेनन् होला । तर, कार्कीका गैरकानुनी र अवैध हरेक आदेश तामेल गरे ।’

लोकमानसिंह कार्कीले अख्तियारमा निजामती कर्मचारीभन्दा प्रहरीमाथि भर गरेका थिए । यतिसम्मकि, उच्च अधिकारीहरुमाथि अनुसन्धानका नाममा बयान लिँदा पनि उनले प्रहरीका तल्लो तहका अधिकृतहरु प्रयोग गरेका थिए । सशस्त्र प्रहरीका महानिरीक्षक र पूर्वमहानिरीक्षकहरुसँग बयान लिँदा कुनै एक दिन पनि निजामती कर्मचारीको संलग्नता रहेको पाइएन । डीएस्पी माधव खत्री र सई होमबहादुर थापाले उनीहरुसँग बयान लिएका थिए ।

महानिरीक्षक कार्कीले अख्तियारमा दरबन्दीबाहेकका प्रहरीहरु खटाएर कार्कीको अबैध सपना पूरा गर्न भूमिका निर्वाह गरेका थिए । स्रोत भन्छ, ‘यतिसम्मकि अख्तियारले सीधै प्रहरीलाई चिठी लेख्न मिल्दैन । लेख्नुपरेमा गृहलाई लेख्नुपर्छ । तर, पत्र नै प्राप्त नगरेर आदेशका भरमा अर्यालले भने जति प्रहरी अख्तियार पठाए ।’ तिनै प्रहरीको आडमा कार्कीले योजना बनाउने र बार्गेनिङ गर्ने गरेको पाइएको छ । जबकि, सशस्त्रसँग कार्कीले आफ्ना पीए भवानी सुवेदीमार्फत त्यस्तै प्रस्ताव राख्न गृहको आदेश चाहिने जवाफ दिइएको थियो ।

राष्ट्रिय अनुसन्धान विभागलाई चाहिँ कार्कीले राजनीतिक दलका नेता–कार्यकर्ता, व्यापारी, उच्च अधिकारीलगायतका व्यक्तिगत अभिलेख उतार्ने शाखाका रुपमा परिणत गरेका थिए । अनुसन्धान विभाग प्रमुख दीलिप रेग्मीले नेता–कार्यकर्ता र कर्मचारीको जासुरी गरेर लिखित रुपमा फाइल नै कार्कीलाई बुझाएको पत्र सार्वजनिक भएको थियो । विभाग स्रोतले भन्यो, ‘त्यतिबेला त्यस्तो प्रतिवेदन तयार गर्न प्रहरी महानिरीक्षक अर्याल पनि विभागको कार्यालय बरफबागमै आएर बस्ने गर्दथे ।’

प्रहरी महानिरीक्षक अर्याल र विभाग प्रमुख रेग्मीमाथि राज्यविरुद्ध जासुरी गरेको अपराधमा मुद्दा चलाउन सकिने विशेष समितिका एक सदस्यले बताए । उनका अनुसार, विना प्रयोजन र राजनीतिक नेतृत्वलाई जानकारी नै नदिई गृहमन्त्रालय मातहतका निकायहरुले यसरी काम गर्नु राज्यविरुद्धको अपराध हो र चेन अफ कमान्डको उल्लंघन हो । त्यसैले यी दुईजनामाथि छानबिन हुन्छ ।

l
अनुसन्धान विभाग प्रमुख रेग्मीले लोकमानलाई लेखेको पत्र नेपाल साप्ताहिकले सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्