लोकमानबारे सरस्वती सुब्वाको खुलापत्र– ‘खुरुक्क राजीनामा दिएर बाटो लाग्नुस्’


हे लोकमान सिंह कार्की–
समाजको नजरमा तपाईं धेरै नै गिर्नुभयो । राम्रो काम गरेको भए, इमानमा बसेर भ्रष्टहरुलाई तह लगाएको भए तपाईं जनताको ह्रदयमा बस्नुहुन्थ्यो, नेपाल आमाको सच्चा सन्तान बन्नुहुन्थ्यो । इतिहासमा नाम लेखाउनुहुन्थ्यो । तर, तपाईंले अति गर्नुभयो । अब समाजको नजरमा अरु धेरै नगिर्नुस्, खुरुक्क राजिनामा दिएर बाटो लाग्नुस् ।

हे सांसदहरु हो–

लोकमानलाई महाभियोगले मात्र पुग्दैन । उनले राजिनामा दिएर मात्र पनि पुग्दैन । उनका सारा कर्तूतहरुको छानविन गरेर कारवाही गरियोस् ताकि भविष्यमा कसैले पनि ‘लोकमान’ बन्ने दुस्साहस नगरुन् ।

हे पदमा बसेका ठूलाबडाहरु हो–

लोकमानलाई विदा गरेर त्यो ठाउँमा निरीह प्राणी त्यहाँ राखौंला र निष्कंटक भ्रष्टाचार गरौंला भन्ने सोचेका छौ भने तिमीहरु भ्रममा छौ । लोकमानलाई लोकमतले हटाउन लागेको हो । जनताले भ्रष्टाचार सहँदैनन्, अख्तियार प्रमुखलाई समेत यो हालतमा पुराउने जनताले तिमीहरुलाई छाड्दैन भन्ने बेलैमा बुझ ।

हेल्लो नेपाली कांग्रेस–

तिम्रो हात थरथर काँप्दैछ, खुट्टा लुगलुग काम्दैछ भन्ने सुनिन्छ । लोकमतको धारमा जाने कि लोकमानको धारमा जाने भनेर तिम्रो मन दोधारमा परेको सुनिँदैछ । तिमी जनताको पार्टी हौ, यो देशको सबैभन्दा ठूलो पार्टी हौ । एउटा कुरा स्मरण दिलाउँ– यस अघि नेकपा माओवादी सबैभन्दा ठूलो पार्टी थियो, अहिले बेहाल छ । कुरा बुझ्यौ होला, योभन्दा धेरै के भनौं

हे भ्रष्टाचार विरोधी नेपाली जनता–

यी पार्टीका नेताहरुको भर नपरौं, भ्रष्टाचारका मुहान यिनीहरु नै हुन् । लोकमानलाई जन्माउने र हुर्काउने अनि पुल्पुलाउने पनि यिनै हुन् । अख्तियारमा हामीलाई निष्कलंक र इमानदार प्रमुख आयुक्त चाहिएको छ । किनभने भ्रष्टाचार नियन्त्रणमा सबैभन्दा ठूलो भूमिका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हुन्छ । चुनावका बेलामा, राजनीतिक विषयमा हामी आआफ्ना पार्टीको विचारमा लागौं तर भ्रष्टाचारको प्रकरणमा चाहिँ यी सारा पार्टीहरुको विपक्षमा उभिएर एकजुट भएर भनौं– हामी भ्रष्टाचार सहँदैनौं ।

प्रतिक्रिया दिनुहोस्